सुर्खेत– प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा सुर्खेतका केही चर्चित नेताहरु नै उम्मेदवार हुनबाट वञ्चित भएका छन् । उम्मेदवार हुन नपाउनेमा पूर्व सांसददेखि पूर्वमन्त्रीसम्म छन्।
नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री शिवराज जोशीले यस पटक टिकट पाएनन् । यसअघि लगातार तीन पटक सांसद भएका जोशीले दोस्रो संविधानसभाको निर्वाचनमा पनि टिकट पाएका थिएनन्।
०४८ मा भएको आमनिर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ बाट विजयी भएका जोशी त्यसपछि ०५१ को मध्यावधि निर्वाचन र ०५६ को संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ बाट लगातार विजयी भएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका उनले ०७० मा भने उम्मेदवार हुन पाएनन्।
जोशी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक कुनै पनि सूचीमा पर्न सकेनन्।
यस्तै, कांग्रेसकै नेता पूर्व राज्यमन्त्री एवं पूर्व सांसद खड्गबहादुर बस्याल पनि यस पटक उम्मेदवार हुनबाट वञ्चित भएका छन् । दुवै संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सांसद बनेका उनी पूर्व स्वास्थ्य राज्यमन्त्री समेत हुन् । कांग्रेस निकट दलित संघको केन्द्रीय अध्यक्ष, सांसद तथा राज्यमन्त्री हुँदै बस्याल राष्ट्रिय राजनीतिमा समेत स्थापित भइसकेका नेता हुन्।
यस पटक टिकट नपाउने अर्का पूर्व सांसद हुन्, कांग्रेसकै लालबहादुर घले । उनी ०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थिए । घले सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभामा उम्मेदवार बन्ने चर्चा चले पनि अन्तिममा उक्त क्षेत्रबाट कांग्रेस सुर्खेतका उपसभापति टेकबहादुर सिंहलाई उम्मेदवार बनाइएको छ।
टिकट नपाउने पूर्व सांसदहरुको सूचीमा नेकपा एमालेकी नेतृ कमला शर्मा पनि परेकी छन् । पहिलो संविधानसभा निर्वाचन ०६४ मा सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित शर्मा ०७० मा भने सोही क्षेत्रबाट पराजित भएकी थिइन् । यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भने उनी प्रत्यक्ष र समानुपातिक दुवैमा पर्न असफल भइन्।
प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ सिट रहेको सुर्खेतमा बिहीबार भएको मनोनयनमा विभिन्न दलका ५९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुर्खेत क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि ९ दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन क्षेत्र नम्बर एकका अधिकृत मोहन सागर बस्यालले जानकारी दिए।
उनका अनुसार, प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर १ (क) बाट ९ दल र १ (ख) बाट १० दलले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि १० दलले उम्मेवारी दर्ता गराएको बस्यालले बताए । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ (क) बाट ११ र २ (ख) बाट १० दलले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवारी कसैले पनि दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।