रसुवा– रसुवामा दर्ताबिनै व्यवसायहरु सञ्चालन गरेको पाइएको छ । जिल्लाको टिमुरे, स्याफ्रु, धुन्चे र कालिकास्थानको अधिकांश होटल, खुद्रा पसल र इलेक्ट्रोनिक्स पसल दर्ताबिनै सञ्चालनमा रहेको पाइएको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्लाको प्रमुख व्यापारिक क्षेत्रहरुमा गरेको अनुगमनका क्रममा दर्ताबिनै व्यवसाय सञ्चालन गरेको भेटिएको हो । त्यसरी सञ्चालन भइहेका व्यवसाय तीन दिनभित्र दर्ता गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । अनुगमनका क्रममा अधिकांश व्यवसाय दर्ताबिना सञ्चालन भइरहेको भेटिएपछि तीन दिनभित्र दर्ता गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताइन्।
जिल्लाका प्रमुख व्यापारिक क्षेत्रमा पटकपटक अनुगमन गरे पनि सुधार भने नभएको पाइएको छ । बिहीबार कालिका गाउँपालिकास्थित कालिकास्थानमा गरिएको अनुगमनमा कालिकास्थानमा सञ्चालित होटल तथा खुद्रा पसलबाट इजाजतबिना मदिराको खरिद–बिक्री हुने गरेको भेटिएको छ । पाँच वटा होटल तथा पसलबाट पहिलो चरणमा चेतावनी स्वरुप थोरै मदिरा नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताइन्।
कालिकास्थानमा सञ्चालित करिब डेढ दर्जन होटलले सरसफाइमा उचित ध्यान नदिएको पाइएको छ । स्थानीय प्रशासनले पाँच महिनामा छैटौँ पटक बजार अनुगमन गरेको हो । पटकपटक अनुगमन गरेर चेतावनी दिए पनि कारबाही नगर्दा व्यापारीहरुले मनोमानी रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।