विराटनगर– आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि मोरङमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। जिल्लाको मुख्य निर्वाचन अधिकारीको कार्यालयमा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारले पहिलो मनोनयन दर्ता गराएका थिए। ६ वटा क्षेत्र रहेको मोरङमा त्यसपछि नेपाली कांग्रेस र वाम गठबन्धनले मनोनयन दर्ता गराए।
मोरङबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला, मिनेन्द्र रिजाल र महेश आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। कोइरालाले क्षेत्र नम्बर ६, रिजालले २ र आचार्यले ४ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
यसैगरी, कांग्रेसबाट निर्वाचन क्षेत्र नम्बर ५ मा अमृत अर्याल, ३ मा विवादास्पद छवीका सुनील शर्मा र १ मा जिल्ला पार्टी सभापति डिकबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नम्बर ३ बाट कांग्रेसको टिकट पाएका शर्मा नोबेल मेडिकल कलेजका सञ्चालक हुन्। उनीमाथि नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोप छ। नेपाल प्रहरीले नक्कली डाक्टर विरुद्ध अभियान चलाउँदा उनी फरार थिए। उनी शेखर कोइरालासँग नजिक मानिन्छन्।
कांग्रेसका नेताले मनोनय दर्ता गराएपछि आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। नेता रिजालले यति धेरै जनताको माया पाउने नेपाली कांग्रेस मात्र भएकाले यो निर्वाचनमा ठूलो पार्टी बन्न कसैले नरोक्ने बताए। ‘हामी आपसी मनमुटावलाई निर्वाचनमा आउन दिन्नौं’, उनले भने, ‘कांग्रेसको विशेषता नै निर्वाचनमा एक हुने हो, सोही अनुसार हाम्रो टिम एक ढिक्का भएर निर्वाचनमा जुट्छ।’
यस्तै, वाम गठबन्धनका उम्मेदवारले बाजागाजासहित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराए। एमालेका तर्फबाट प्रमुख सचेतक रहेका प्रभावशाली नेता भानुुभक्त ढकालले मोरङ ३ र चर्चित नेता लालबाबु पाण्डितले मोरङ ६ बाट मनोनयन दर्ता गराएका छन्। मोरङ ६ मा कांग्रेस नेता शेखर कोइरालासँग पण्डितको प्रतिस्पर्धा हुँदैछ।
मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले नेता पण्डितले भने, ‘जनताको भावना बुुझ्न सक्ने व्यक्ति भएको हुनाले आफूलाई जनताले विजयी बनाउनेमा ढुुक्क छु।’
त्यस्तै, वाम गठबन्धनका तर्फबाट एमालेबाट मोरङ १ मा घनश्याम खतिवडा र २ मा ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराए। माओवादी केन्द्रका तर्फबाट क्षेत्र नम्बर ४ मा अमनलाल मोदी र ५ मा शिवकुमार मण्डलले मनोनयन दर्ता गराएका छन्।
नयाँ शक्तिका तर्फबाट क्षेत्र नम्बर २, ४, ५ र ६ मा क्रमशः दीपक कोइराला, राकेश चौधरी, अमृता महतो र विमला आचार्यले उम्मेदवारी दिएका छन्।
क्षेत्रीय निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी हेमन्तकुमार श्रीवास्तवले मोरङमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता सकिएको जानकारी दिए। उनका अनुसार जिल्लामा ६ लाख ४४ हजार ७ सय ८२ मतदाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।