काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन देशभर शान्तिपूर्ण रुपमा भएको निर्वाचन आयोगले जनाएको छ।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आयोगले उम्मेदवारी दर्ताको समय तोकेको थियो । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ १५६ क्षेत्र छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने यसअघि नै उम्मेदवारी मनोनयन भइसकेको छ।
दर्ता भएको उम्मेदवारीमा शुक्रबार उजुरी दिन सकिने कार्यतालिका छ । शनिबार निर्वाचन आयोगले उजुरीमाथि जाँचबुझ गर्नेछ । सो अवधिमा सिफारिस भएका उम्मेदवार अयोग्य भएको पाइएमा दलहरुले अर्को उम्मेदवार पठाउन सक्नेछन्।
आयोगले १७ र १८ गते दाबी विरोधको प्रक्रिया पूरा गरेर १८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । दलहरुलाई कात्तिक १९ गते निर्वाचन चिह्न दिइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्।
'आयोगले उम्मेदवारको अन्तिम नामावली कात्तिक १८ गते प्रकाशित गर्नेछ । १९ गते दलहरुलाई निर्वाच चिह्न प्रदान गरिनेछ', उनले भने।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको अन्तिम सूची भने १७ गते सार्वजनिक गर्नेछ । दलहरुले कात्तिक १२ गते क्लस्टर मिलाएर सच्याइएको बन्दसूची आयोगमा पेश गरिसकेका छन् । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २२० जना चयन हुनेछन्।
दलहरुले बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला अनिवार्य समेट्नुपर्छ । यस्तै, १३.८ प्रतिशत दलित, २८ प्रतिशत आदिवासी जनजाति, ३१.२ प्रतिशत खस आर्य, १५.३ मधेसी, ६.६ थारु र ४.४ प्रतिशत मुस्लिम समेटेर दलहरुले सिफारिस बुझाएका छन् । आयोगमा दर्ता भएका कुल ९१ राजनीतिक दलमध्ये ८८ दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएका थिए । बन्दसूची भने ५२ दलका उम्मेदवारले मात्र बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।