नेपालगन्ज– नेपाली कांग्रेसले पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाकै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभामा उम्मेदवारी नदिएर राप्रपाका उम्मेदवारलाई समर्थन गरेको छ।
२०४८ सालदेखि कोइराला निर्वाचन लड्दै आएको बाँके क्षेत्र नम्बर २ बाट कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार ओमप्रकाश आजाद चुनावी मैदानमा उत्रिएका छन्।
आजाद राप्रपाका केन्द्रीय सदस्य हुन्। आजादको उम्मेदवारी दर्ता गराउन कांग्रेस बाँकेकी सभापति एवं सुशील कोइरालाकी भाइबुहारी किरण कोइराला कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेकी थिइन्।
कोइरालाको निधनसँगै बाँकेको नेपालगन्जसहित क्षेत्र नम्बर २ मा कांग्रेसको संगठन कमजोर बन्दै गएको छ। गत स्थानीय निकाय निर्वाचनमा राप्रपाका धवल शम्शेर राणाले नेपालगन्ज उपमहानगरको मेयरमा जितेका थिए।
बाँकेका अन्य क्षेत्रमा चुनाव जित्नका लागि कांग्रेसले आफ्ना पूर्व सभापतिकै निर्वाचन क्षेत्र राप्रपालाई दिएर जिल्लाका प्रतिनिधिसभाका अन्य २ र प्रदेशसभाका ६ वटै स्थान आफूले लिएको हो।
३ क्षेत्रमध्ये एउटा क्षेत्र आफूले लिएर अन्य प्रतिनिधिसभा र सबै प्रदेशसभामा कांग्रेसलाई सहयोग गर्ने कांग्रेस र राप्रपाबीचको सहमति अनुसार नै उम्मेदवारी दिएको बाँके–२ का राप्रपाका प्रतिनिधिसभा उम्मेदवार आजादले बताए।
कांग्रेसले मात्रै नभई एमाले र माओवादी गठबन्धनले पनि क्षेत्र–२ को प्रतिनिधिसभामा हृदयेश त्रिपाठी समूहका पशुपति दयाल मिश्रालाई उम्मेदवार बनाएको छ। मिश्रा एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन्।
बाँके–२ को प्रतिनिधिसभामा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)बीच तालमेल हुन नसकेपछि दुवै पार्टीले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन्। संघीय फोरमबाट इस्तिहाक राई र राजपाबाट विजय गुप्ताले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस र राप्रपा गठबन्धनबाट बाँके क्षेत्र–१ मा प्रतिनिधिसभाका लागि कांग्रेसका माधवराम खत्री, प्रदेशसभा (क) मा शरदचन्द बर्मा र (ख) मा नारायण गौडेलको उम्मेदवारी परेको छ। यस्तै क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा कांग्रेसका निरञ्जनसिंह सिजापति र (ख) मा सुरेन्द्र हमालले उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा क्षेत्र–३ मा कांग्रेसका बादशाह कुर्मीले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा (क) मा चन्तराम थारु र प्रदेशसभा (ख) मा लक्ष्मीनारायण शाहले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा बाँके–१ बाट माओवादी केन्द्रका महेश्वर गहतराज अथक, प्रदेशसभा (क) बाट माओवादीकै नमूना केसी, प्रदेशसभा (ख) बाट एमालेकी आरती पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
बाँके क्षेत्र–२ मा प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट मिश्रा, प्रदेशसभा (क) बाट माओवादी केन्द्रका कामताप्रसाद खटिक र प्रदेशसभा (ख) बाट एमालेका विजय गुप्ताले उम्मेदवारी दर्ता गराएका छन्।
बाँके–३ मा प्रतिनिधिसभातर्फ एमालेका नन्दलाल रोकाया र प्रदेशसभा (क) बाट माओवादीका आइपी खरेल र (ख) बाट एमालेका बाबुराम गौतमले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।