काठमाडौं– नेपाली कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यहरुले प्रदेश र प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार हुने मौका पाएनन्।
प्रभावशाली युवा नेताहरु गुरुराज घिमिरे, बद्री पाण्डे, धनराज गुरुङका साथै केबी गुरुङ, कमला पन्त, रत्न शेरचन, सरिता प्रसाईँ, केशव बुढाथोकी प्रत्यक्ष र समानुपातिक कुनैमा पनि उम्मेदवार हुन पाएनन्।
उनीहरुले पार्टीको टिकट वितरण गर्ने जिम्मा पाएका व्यक्तिहरुले आफ्ना मान्छे च्याप्दा आफूले नपाएको बताएका छन् । आफूले टिकट नपाए पनि चुनावमा पार्टीका लागि आवश्यक योगदान दिन भने तयार रहेको उनीहरुले बताए।
युवा नेता पाण्डेले टिकट नपाए पनि पार्टीलाई जिताउन आवश्यक भएकाले प्रचारमा सक्रिय हुने बताए।
अर्का युवा नेता घिमिरेले पार्टीले आफूलाई अन्याय गरेको भन्दै असन्तुष्टि मात्रै जनाएनन्, संसदीय समितिले टिकट वितरणमा विभेद र अन्याय गरेको समेत बताए।
‘यो अन्याय परम्परागत रुपमा राज्यले गरेको विभेद र अन्यायभन्दा जघन्य छ’, उनले आरोप लगाए।
घिमिरेले आफूमाथि विभेद भए पनि पार्टीको निर्णय मान्दै कांग्रेसलाई जिताउन सक्रिय हुने उनले बताए।
‘वर्षौंसम्म यही व्यवस्थाका लागि लड्यौं, तर आज अन्याय भयो कि भन्ने लागेको छ’, घिमिरेले भने ‘तर कांग्रेसलाई जिताउन दिलोज्यानले लाग्छु।’
घिमिरेको नाम मोरङको प्रदेशसभामा सिफारिस भएको थियो । मोरङ ४ बाट प्रतिनिधिसभामा केन्द्रीय सदस्य महेश आचार्य उम्मेदवार छन् भने प्रदेशसभा ‘क’ मा मुक्तिनाथ माझी थारु र ‘ख’ मा विश्वनाथ रिजालले टिकट पाएका छन्।
यसअघि बाजुराबाट सांसद भएका केन्द्रीय सदस्य पाण्डेको स्थानमा जिल्ला अध्यक्ष कविराज पण्डितले टिकट पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।