बैतडी – प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न निर्वाचनमा बैतडीमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको छ।
उम्मेदवारी दर्ता गराएकामध्ये कुनै पार्टीबाट पनि महिला उम्मेदवार नरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए। राजनीतिक दलहरुले महिला नेतृत्वमाथि अझै पनि विश्वास गर्न नसकेका कारण महिलाको उम्मेदवारी नपरेको दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन्।
मुख्य राजनीतिक दलहरुले महिला नेतृत्वलाई स्वीकार गर्न नसकेकाले राष्ट्रिय राजनीतिमा महिलाको पहुँच पुग्न नसकेको पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले बताइन्। राजनीतिक दलहरुले महिला नेतृत्वलाई विश्वास नगरेकै कारण महिलाको राष्ट्रिय राजनीतिमा पहुँच पुग्न नसकेको महिला अधिकारकर्मीले बताएका छन्।
राज्यका हरेक निकायमा महिला ३३ प्रतिशत सहभागिता हुनुपर्ने कानून भए पनि नेपालमा यसो नभएको बैतडीका महिला अधिकारकर्मीले बताएका छन्।
महिला अधिकार र सहभागिताका कुरा कागजमा मात्रै सीमित हुँदा महिलाको सहभागिता हुन नसकेका उनीहरुको भनाइ छ। आगामी मंसिरमा हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य भएकामा महिलाले आपत्ति जनाएका छन्।
महिलालाई जहिले पनि कोटामा मात्रै सीमित पार्ने परिपाटीले महिलाको सहभागिता न्यून हुने गरेको महिला अधिकारकर्मी कान्ता चन्दले बताइन् ।बैतडीमा कुनै पनि पार्टीबाट प्रत्यक्षतर्फ महिला उम्मेदवारी शून्य हुनु दुःखको कुरा भएको उनले बताइन्। अझै पनि समाजमा पितृसत्तात्मक सोच हाबी भएकाले निर्णयात्मक भूमिकामा महिलालाई पछाडि पार्ने गरेको पार्वती भट्टले बताइन्।
स्थानीय तहको चुनावमा पनि बैतडीका सबै तहमा महिला उपप्रमुख र उपाध्यक्षमा सीमित पारिएका थिए ।
स्थानीय तहको निर्वाचनमा १० तह रहेको बैतडीमा कुनै पनि तहमा महिलालाई प्रमुखमा टिकट दिइएन भने जिल्लामा रहेको ८४ वडामध्ये एकमा मात्रै महिलाले वडाध्यक्षको टिकट पाएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।