इलाम- जापानी संस्था एशिया फ्रेण्डसिप नेटवर्कले इलामका दुईवटा विद्यालयमा आठकोठे पक्की भवन बनाइदिने भएको छ।
सूर्योदय नगरपालिकाको कृष्णाश्रम मावि कन्याम र रोङ गाउँपालिकाको सरस्वती मावि भालुझोडामा पक्की भवन बन्ने भएको हो।
उक्त नेटवर्कका जापानी प्रतिनिधि मोमोको र नेपाल प्रतिनिधि पूर्णलाल श्रेष्ठले संयुक्तरूपमा ती विद्यालयको पक्की भवन शिलान्यास गरे।
जापानी नागरिक इजुमारो युजुरोको छोरीको २५ वर्षमा निधन भएको थियो। छोरीको स्मृतिमा जापानमा स्थापना गरिएको सो संस्थाले नेपालका विद्यालयमा सहयोग गर्दै आएको नेटवर्कका नेपाल प्रतिनिधि श्रेष्ठले बताए।
नेपालमा सो संस्थाले सन् १९९६ बाट सहयोग गर्दै आएको छ। नेटवर्कले नेपालको सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, नुवाकोट लगायतका जिल्लामा ८४ विद्यालय भवन निर्माण गरिसकेको छ। तत्कालीन सांसद झलनाथ खनालले पेश गरेको प्रस्तावअनुसार इलाममा पनि सहयोग गर्न लागिएको नेटवर्कका प्रतिनिधि मोमोकोले बताए।
आगामी १५ महिना भित्रमा सो भवन निर्माण भई विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।