काठमाडौं- दुई वर्षअगाडि सरकारले गरेको लगानी सम्मेलन २०७३ मा झन्डै १४ खर्ब लगानी प्रतिबद्धता आएको थियो। लगानी सम्मेलनमामा सहभागी नेपाली लगानीकर्तासहित चीन, जापान, भारत, बेलायत र श्रीलंकाबाट १३ खर्ब ५२ करोड रुपैयाँको लागनी प्रतिबद्धता आएको थियो।
तर, लगानी प्रतिबद्धता झन्डै १४ खर्ब घोषणा भए पनि एक खर्ब रुपैयाँ बराबरको प्रतिबद्धता कार्यान्वयनमा आयो।
त्यसबेला १६ लगानीकर्तामध्ये सबैभन्दा बढी रकमको प्रतिबद्धता चीनले गरेको थियो। चीनका लगानीकर्ताले ८ खर्ब ३० अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता गरेका थिए। उत्तरी छिमेकी मुलुक चीनले सबैभन्दा बढी लगानीको प्रतिबद्धता व्यक्त गरिरहँदा दक्षिणको छिमेकी मुलुक भारतबाट भने जम्मा ३१ अर्ब ७० करोड रुपैयाँ लगानीको प्रतिबद्धता गरेको थियो। यस्तै, बङ्गलादेशले नेपालमा २ खर्ब ४० अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता व्यक्त थियो भने श्रीलङ्काले ५० अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता गरेको थियो। यस्तै, बेलायत र जापानले १–१ अर्ब र स्वदेशी लगानीकर्ताहरूले ११ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सम्मेलनमा २ सय ४० लगानीकर्ताहरू सहभागी थिए । यद्यपि, सम्मेलनमा सरकारले अपेक्षा गरेभन्दा बढीको लगानी प्रतिबद्धता आएको थियो। सरकारले लगानी सम्मेलनबाट १ खर्ब जुट्ने अनुमान गरेकोमा १३ खर्ब बढीको लगानी प्रतिबद्धता आएको थियो। यसरी आएको लगानी प्रतिबद्धता कार्यान्वयनमा भने आउन सकेको थिएन।
लगानी सम्मेलन २०७५ आज समापन हुँदै छ। लगानीकर्ताले विभिन्न आयोजनाहरुमा रुचि देखाइरहेका छन्।
तर, कसले कुन आयोजनाम कति लगानी प्रतिबद्धता गरे, त्यसको विवरण आइसकेको छैन।
काठमाडौंको सोल्टी होटलमा शुक्रबारदेखि सुरु भएको लगानी सम्मेलनमा ४० देशका ६ सय भन्दा बढी लगानीकर्ता तथा विदेशी उच्चपदस्थ प्रतिनिधिमण्डल सहभागी छन। साथै सम्मेलनमा नेपाली लगानीकर्ता पनि सहभागी छन्। सरकारले लगानी सम्मेलनमा सरकारी क्षेत्रबाट ५० वटा र निजी क्षेत्रको तर्फबाट २७ वटा गरी ७७ वटा आयोजनको बारेमा विदेशी लगानीकर्तालाई जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।