काठमाडौं- लगानी सम्मेलन २०७५ मा सहभागी भएका विदेशी पाहुनाले लगानी सम्मेलनमात्र पर्याप्त नभएको बताउक छन्। लगानी सम्मेलनका साथै लगानीकर्ताको फलो अप पनि उत्तिकै प्रभावकारी ढंगले गर्न सके मात्र सम्मेलनले सार्थकता पाउने उनीहरुले बताएका हुन्।
राजनीतिक रूपमा स्थिरता कायम भएसँगै सरकारले पहिलो प्राथमिकतामा आर्थिक विकास र समृद्धि राखेको दाबी गर्दै समृद्धिका लागि लगानी सम्मेलन आयोजना गरेको बताएको छ। विदेशी लगानीकर्ता ल्याएर पनि नेपालले आर्थिक छलाङ मार्न चाहान्छ भन्ने सन्देश दिन सरकारले लगानी सम्मेलन आयोजना गरेको दीबी गरेको छ। तर सम्मेलनमा सहभागि पाहुनाले भने नेपालले साँच्चिकै विदेशी लगानी भित्र्याउन सम्मेलन मात्रै पर्याप्त नहुने धारणा राखेका हुन्।
छोटो समयमा नै आर्थिक रुपमा ठूलो छलाङ मारेको मलेसियाको सरकारी संस्था मलेसियन ईन्भेस्टमेन्ट अथोरिटीका कार्यकारी निर्देशक शिवसूर्यमुर्ती सुन्दारा राजाले वास्तविक लगानी भित्राउन सम्मेलन मात्र पर्याप्त नरहेको धारणा राखे।
‘यहाँ हजारौं विदेशी लगानीकर्ता उपस्थित छन्। यो सकारात्मक पक्ष हो। तर यतिले मात्र पर्याप्त छैन। लगानीकर्तालाई विश्वासमा लिन हरेक दिन भेटघाट गर्नुपर्यो। उनीहरुका कुरा सुन्न पर्यो। यो मैले आफ्नो अनुभवबाट भनरहेको छु,’ शिव सूर्यमुर्तीले भने।
२ वर्षअघि पनि नेपालमा यस्तै प्रकृतिको सम्मेलन भएको थियो। तर सम्मेलनबाट भएका प्रतिबद्धतालाई नेपालले कार्यान्वयन गर्न सकेन भन्ने दृष्टान्तलाई पनि शिवसूर्यमुर्तीको भनाईले पृष्ठपोषण गरेको छ।
लगानी प्रवर्धनलाई पहिलो प्राथमिकतामा राख्न पनि उनले नेपाललाई सुझाव दिए। आफ्नो मुलुकको उदाहरण दिँदै उनले भने, ‘खुल्ला अर्थतन्त्रको सिद्धान्त अवलम्बन गर्नु मलेसियाले आर्थिक छलाङ मार्नुको प्रमुख कारण हो। हामीले उच्च प्रविधिलाई अवलम्बन गरेका लगानीकर्तालाई प्राथमिकता राख्यौं। हामीले एउटा अथोरिटीलाई यति शक्तिशाली बनायौं कि उसले लगानी कसरी बढाउने भनेर अध्ययन अनुसन्धान गर्ने मात्र होईन लगानीकर्ताका समस्या पनि सुन्न सकोस्। त्यो खालको ईच्छाशक्ति नेपालले पनि राख्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।