काठमाडौं- संयुक्त अरब इमिरेटस (युएई)ले आफ्ना देशका नागरिक नेपालमा लगानी गर्न इच्छुक रहेको बताएको छ। शुक्रबार सुरु भएको लगानी सम्मेलनमा बोल्दै युएईका वैदेशिक व्यापार तथा आर्थिक मामिला मन्त्रालयका सहसचिव अब्दुल्लाह अल सलाहले यो कुरा बताएका हुन्। तर यसका लागि नेपालले नै वातावरण तयार पार्नुपर्ने उनले बताए।
नेपालमा लगानी आउन नसक्नुको प्रमुख कारण नेपाल र युएईबीच रहेको दोहोरो कर प्रणाली हुन सक्ने धारणा उनले राखे। नेपालले गर्ने वैदेशिक व्यापारमा ठूलो हिस्सा ओगटेको मुलुक हो। नेपालबाट ठूलो संख्यामा वैदेशिक रोजगारका लागि जनशक्ति त्यहाँ गएको छ।
आर्थिक विकासका हिसाबले निकै अगाडि देखिएको युएईका लगानीकर्ता विश्वभर आफ्नो उद्योग र व्यापारको साम्राज्य बनाइरहेका छन्। तर नेपालमा भने उक्त मुलुकबाट निकै कम लगानी आएको छ।
'व्यापारका हिसाबले नेपाल र युएइबीच निकै राम्रो सम्बन्ध छ। तर लगानीका हिसाबले हामी कमजोर छौं। त्यसको मुख्य कारण कर प्रणाली हो भन्ने मेरो बुझाई छ। नेपाल र युएईबीच रहेको दोहोरो कर प्रणाली अन्त्य हुनुपर्छ,’ सहसचिव अलाहले भने।
नेपाल युएईका लगानीकर्ताबाट कस्तो खालको लगानी चाहान्छ भन्ने स्पष्ट हुन जरुरी रहेको उनेको भनाइ थियो। ‘हामी नेपालमा किन पनि लगानी गर्न चाहान्छौं भने नेपालको वैदेशिक व्यापार गर्ने ठुला मुलुकको सूचीमा पहिलो ५ नम्बर भित्रै पर्छौं। तर लगानीका हिसाबले किन पछाडि छौं भने सबैभन्दा पहिले नेपालले आफ्नो प्राथमिकता के हो भन्ने स्पष्ट हुनपर्छ,’ उनले भने।
युएईले आफ्नो देशका लगानीकर्तालाई नेपालमा लगानी गर्न जाउ भन्दा के भनेर पठाउने भन्ने आधार नेपालले खोज्नुपर्ने उनको भनाइ थियो।
नेपालमा लगानीको सम्भावना खोज्नु युईएका लागि पनि लाभदायी रहेको सलाहले बताए। ‘राजनीतिक रुपमा चीन र भारतसँग युएईको राम्रो कुटनीतिक सम्बन्ध छ। भारतसँग त हाम्रो व्यापार सम्बन्ध अन्य मुलुकको तुलनामा अग्रपंक्ति मा नै आउँछ। यी दुई मुलुक नेपालका छिमेकी हुन्। यसकारण पनि युएईका लगानीकर्ता नेपाल आउन चाहान्छन्,’उनले उल्लेख गरे।
आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी आवश्यक छ भन्ने कुरा युएईबाट सिक्न सकिने उनको धारणा थियो। ‘हामीले प्रत्यक्ष वैदेशिक लगानीका कारण डराउनुपर्ने अवस्था थियो। तर पछिल्लो २० वर्षमा हामीले यो कुरा पत्ता लगायौं कि मुलुकको आर्थिक विकासका लागि वैदेशिक लगानी पनि उत्तिकै आवश्यक छ,' उनले भने, 'अहिले हाम्रो कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशत योगदान प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रबाट भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।