बनेपा- प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयनकै दिन काभ्रेमा लोकतान्त्रिक गठबन्धन भंग भएको छ।
उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला राप्रपा प्रजातान्त्रिक काभ्रेले जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले जनमत सुरक्षित गर्न भन्दै जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको बताए।
केसीले प्रतिनिधिसभाको क्षेत्र नम्बर १ मा रेशम लामा र प्रदेशसभातर्फ राजेन्द्र केसी र चन्द्र जिम्वाको उम्मेदवारी निश्चित भएको उल्लेख गर्दै अन्य उम्मेदवारका विषयमा निर्णय गर्न बाँकी रहेको बताए।
राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधिसभामा दिलबहादुर योञ्जन, रोहित बादे र प्रदेशसभामा रामकृष्ण सापकोटा, कृष्णगोपाल पाण्डेको नाम सिफारिस भएको बताइएको छ।
'केन्द्रले पनि मिलाउन चाहेन र कांग्रेसले पनि मिलाउन नसकेकाले गठबन्धनबाट हामी अलग भयौं', केसीले भने।
राप्रपा प्रजातान्त्रिक सरकारमा समेत सहभागी छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।