काठमाडौं- भारतको मुथुत फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा लगानी गर्ने भएको छ।
मुथुत ग्रुपका अध्यक्ष जर्ज मुथुतले युनाइटेड फाइनान्सका अध्यक्ष वसन्त चौधरीलाई ३० बिलियन अर्थात् ३९ करोड ९० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे। लगानी सम्मेलन २०७५ को उद्घाटनकै दिनमा दिन मुथुत र चौधरीबीच चेक आदानप्रदान भएको हो।
युनाइटेड फाइनान्समा यसअघि नै मुथुत फाइनान्सले लगानी गर्ने सहमति भएपनि लगानी सम्मेलन २०१९ को अवसर पारेर घोषणा गरिएको हो। साधारणसभाले प्रतिकित्ता १ सय ९० रुपैयाँका दरले मुथुत फाइनान्सलाई २१ लाख कित्ता बिक्री गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।
युनाइटेड फाइनान्समा नेपालको चर्चित व्यावसायिक घराना चौधरी समूहको ठूलो लगानी छ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसहित वसन्तकुमार चौधरी, राहुल चौधरी, अरुण चौधरीको यसमा लगानी छ। वसन्त चौधरी फाइनान्सका अध्यक्ष छन्।
फाइनान्सको चुक्ता पुँजी ८० करोड ५ लाख रुपैयाँ छ। जसमा मुथुत फाइनान्सले ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको हो। फाइनान्सले ०७५ पुस मसान्तसम्ममा ५ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको नाफाबाट कम्पनीले यो वर्ष सेयरधनीलाई जम्मा ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो। फाइनान्सको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा छ। युनाइटेड फाइनान्स २५ वर्षदेखि सञ्चालमा रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।