हेमन्त जोशी/काठमाडौं- लगानी सम्मेलन २०७५ को दोस्रो तथा अन्तिम दिन नेपालमा लगानीको वातावरण कस्तो छ भने विषयमा छलफल सुरु भएको छ। छलफलमा एसियाली विकास बैंकका उपाध्यक्ष सीजिङ चेनले आफूहरुले नेपालमा लगानी गर्दा पहिलो प्राथमिकतामा पूर्वाधार क्षेत्र, त्यसपछि जीवनस्तर उकास्ने र आर्थिक रुपान्तरणका अन्य आयामलाई राखेको अनुभव सेयर गरेका छन्।
नेपालमा एडिबीको अनुभव भनेको भर्खरै मात्र लागू भएको संघीयता र हरेक सरकारले आफ्नो क्षेत्रमा विकासका लागि पहल कदमी हो। अहिले सरकार पनि स्थिर बनेको उनको भनाइ छ। ‘अन्तर्राष्ट्रिय क्षेत्रको अनुभव पनि नेपालमा काम लाग्न सक्छ,’ उनले भने, ‘निजी क्षेत्रको लगानी रिसोर्स मोबिलाइजेसनका लागि पनि आवश्यक छ।’

आयोजनाहरुमा जबसम्म व्यवसायिकतालाई ध्यानमा राखिँदैन तबसम्म सकरात्मक नतिजाको अपेक्षा पनि गर्न असहजता आउने उनको भनाइ छ। 'नेपालको ऐन नियम लगानीकर्ता मैत्री बनेको छ।
नेपालले आफ्नो विकासका लागि लगानी खोज्नैपर्ने आवश्यकता छ,' उनले भने, 'नेपालले आफूलाई ल्यान्ड लिङ्क्ड बनाउन सक्छ, त्यो भनेको उर्जा क्षेत्रको विकास र अन्तरदेशीय सडक सन्जालको विकास हो।’
नेपालको हस्पिटालिटीलाई कुनै विदेशीले बिर्सन नमिल्ने उनले बताए।
'लगानी ल्याउनका लागि नेपालले गरेको पहललाई नै हेर्नुहोस्। तपाईंले यहाँ सबैको अनुहारमा मुस्कान सहितको स्वागत भेट्नुहुनेछ’, उनले भने।
अनुज अग्रवाल, अध्यक्ष, नेपाल पूर्वाधार विकास बैंक

तपाईंले हरेक विदेशी लगानीकर्तालाई पछिल्लो २० वर्षको अवस्थाका बारेमा सोध्नुभयो भने उनीहरुले आफूले निकै राम्रो प्रतिक्रिया दिनेछन्। उनीहरुले आफ्नो व्यापार व्यवसायमा दोहोरो अंकको वृद्धिदर पाएका छन्। हाम्रो जनसंख्या सानो छ। अर्थतन्त्र पनि सानो छ। तर अवसरका लागि जुनसुकै क्षेत्र खोजे पनि हुन्छ।
भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालको निजी क्षेत्रको धारणा भन्नुपर्दा यो लगानीको लागि सही समय हो। हामीसँग स्थिर सरकार छ। हामी विश्वभरका लगानीकर्तालाई नेपालका बारेमा जानकारी गराउन चाहन्छौं। हो पहिला पक्कै पनि चुनौती थिए। तर अहिले ती सुल्झिएका छन्।
संघीयतापछि नेपालमा तीन तहको प्रशासनिक संरचना भएको छ। सरकार आफैले ठूला आयोजनाका लागि पहल गरिरहेको छ। हामीसँग युवा जनशक्ति छ। विकासमा युवाहरुको सहभागिता बढ्दो छ। नेपालको भौगोलिक अवस्था पनि निकै सुहाउँदो खालको छ।
भारत र चीन नेपालका दुई छिमेकी मुलुक हुन्। ती मुलुकसँग नेपालको राम्रो व्यापार सम्बन्ध छ। त्यहाँ हामीले बजार खोज्न सक्छौं। नेपालमा पर्यटन क्षेत्र हेर्ने हो भने साहासिक पर्यटनदेखि धार्मिक पर्यटनका सम्भावना छन्।
निजी क्षेत्रको प्रतिनिधिका हिसाबले मैले नेपाल सरकारसँग निकै नजिक भएर काम गर्न पाएकी छु। नेपालले अहिले साँच्चिकै लगानीका लागि अवसर खोजिरहेको छ।
उपेन्द्र महतो, गैरआवासीय नेपाली संघ, पूर्व अध्यक्ष

नेपालमा अवसर पक्कै छन्। तर म त्यसबारेमा कुरा गर्न चाहन्नँ। काम गर्दा साना समस्या त जताततै हुन्छन्। त्यो अरु मुलुकमा पनि हुन्छ। त्यस्ता साना समस्यालाई समस्या नै मान्न सकिन्न। नेपालका राजनितिज्ञ, कर्मचारी निकै सजिला छन्। तपाईंले उनीहरुको घरमा गएर, अफिसमा गएर जता पनि भेट्न सक्नुहुन्छ।
नयाँ लगानीकर्ताका लागि नेपाल सही गन्तव्य हुन सक्छ, समयमै आनुहोस्। लगानी गर्नुहोस्। अबको तीन-चार वर्ष तपाईंहरुले ठूलो नाफा कमाएर आफ्नो लगानी उठाउन सक्नुहुन्छ। नेपालजस्तो नाफा गर्न सकिने मुलुक अरु छ जस्तो मलाई लाग्दैन।
म दाबा गर्छु कि कसैले पनि नेपालबाट लाभांश लिन सकिन भनेर भन्न सक्दैन। यदि भन्छ भने त्यो ढोंगी हो।
नेपाल विश्वमा एउटा मात्रै मुलुक हो जहाँ विकास बजेट खर्च आधा पनि खर्च हुन सकेको देखिँदैन। वैदेशिक व्यापारका लागि एलसी नखुलाएरै सामान आयात गर्न सकिन्छ।
निरुक्त सार्पु, सिइओ- स्टान्डर्ड चार्टर्ड बैंक, दक्षिण एसियाली क्लस्टर- भियतनाम

हामी नेपालमा ३३ वर्षदेखि छौं। मलाई साँच्चिकै लाग्दैन कि नेपालमा लगानीको वातावरण छैन। ३३ मा हामीलाई कुनै पनि खालको समस्या भएन।
नेपालको सबल पक्ष के पनि हो भने नेपालको राजनीतिक तह विदेशी लगानीकर्ताका लागि पहुँचमा रहन्छ। लगानीकर्ताले राजनीतिक तहसँग आफ्ना समस्या सजिलै भन्न सक्छन्। उनीहरुले पनि सुनिरहेका हुन्छन्। यहाँ बस्दा मलाई कहिल्यै यस्तो लागेन कि म विदेशी लगानीकर्ता हुँ, म नेपाली पनि हुँ भनेर सोच्नुहुन्छ।
आशिष राई, युनिलिभर नेपाल, प्रबन्ध निर्देशक

नेपालमा ६५ प्रतिशत काम गर्न सक्ने युवा जनशक्ति छ। तर उनीहरु विदेश गइरहेका छन्। विदेशी किन गइरहेका छन् भने उनीहरुले यहाँ काम गर्नका लागि ठाउँ पाएनन्। काम नपाउनुको मतलब नेपालमा रोजगारी सिर्जना गर्ने निकै कम क्षेत्रमात्रै छन्। यसको मतलब हामीलाई काम गर्नको लागि झन् बढी अवसर छन भन्ने हो।
नन्दलाल शर्मा, अध्यक्ष, सतजल विद्युत निगम लिमिटेड, भारत

नेपाल र भारतको दुईपक्षीय सम्बन्ध निकै लामो समयदेखि चलिरहेको छ। दुई देशबीचको सम्बन्धलाई लगानीका विभिन्न माध्यमबाट जोड्ने काम त भएको छ नै। नेपाल ऊर्जा क्षेत्र लगानीका लागि निकै ठूलो अवसर भएको मुलुक हो। नेपालमा ८० हजार मेगावाटभन्दा बढी विद्युत उत्पादनको क्षमता छ। तर निकै कम मात्र लगानी भएको छ।
त्यसो हुनुको पछाडि नेपालका आफ्नै चुनौतीका कथा छन्। तर अहिले ती पनि विस्तारै सुल्झिँदै गएका छन्। राम्रो कुरा के हो भने नेपाल सरकारले हाम्रा कुरालाई सजिलै सुनिदिन्छ, बुझिदिन्छ।नेपालको जलविद्युत उत्पादनको क्षमतालाई बुझेर मात्रै हामीले लगानी गर्न सक्यौं भने पनि लगानीकर्ता र नेपाल दुवै क्षेत्रका लागि सकारात्मक हो।
हरिभक्त शर्मा, अध्यक्ष, नेपाल उद्योग परिसंघ

म एउटा उदाहरण भन्छु। युनिलिभरका अध्यक्ष यहीँ छन्। उनको कम्पनीले पुँजी बजारमा सधैं राम्रो गरिरहेको देखिन्छ। त्यहाँ किन्ने मात्रै छन् बेच्ने छैनन्। एउटा उत्पादन मुलुक कम्पनीका लागि पुँजी बजार यति सकारात्मक छ भने तपाईंहरुले यहाँको अवस्था बुझ्न सक्नुहुन्छ।
यो सही समय हो लगानी गर्नका लागि। सरकारले विदेशी लगानीको सुरक्षा गर्ने प्रतिबद्धता जनाएको छ। तपाईं २ वर्षपछि नेपालमा लगानी गर्न आउनुभयो भने यही कुराको आश्वासन तपाईंले नपाउन पनि सक्नुहुन्छ।
नेपालमा अहिले एउटा विदेशी कम्पनी मात्रै असफल भएको तथ्यांक हामीसँग छ। ऊ किन असफल भएको भने उसले नेपालमा व्यवसाय गर्ने कुरालाई कहिल्यै सहजताका साथ लिएन। नेपालमा लगानीको प्रतिफल अन्तर्राष्ट्रिय कम्पनी फेसबुकको भन्दा बढी छ भन्यो भने तपाईंहरु पत्याउनुहुन्छ? तर त्यो साँचो हो।
नेपालको निजी क्षेत्रबाट विदेशी लगानीकर्ताले यहाँको लगानीको वातावरण कस्तो छ भनेर जानकारी लिन सक्छन्। हामीसँग सहकार्य गर्नुहोस्। तपाईंहरुले निजी क्षेत्रसँग सहकार्य गर्न सक्नुहुन्छ। २५ वर्षअघि नेपालको स्वास्थ्य क्षेत्र, मेडिकल क्षेत्र राम्रो मानिँदैन थियो। तर अहिले निजी क्षेत्रको सहभागितापछि सक्षम डाक्टर र नर्स उत्पादन गरेर विश्व बजारमा पठाउने मात्र होइन हामीले केही औषधिको उत्पादनमा आत्मनिर्भर पनि भएको छ।
नेपाल विदेशी लगानी ल्याउनका लागि यति आतुर भएको मैले अहिलेसम्म देखेको थिइनँ। यो अवसरलाई समात्न सक्यो भने लगानीकर्ताका लागि पनि राम्रै हुन्छ भन्ने मलाई लागेको छ। हामी नेपालभित्र रहेको अवसरलाई मार्केटिङ गर्न खोजेका छौं। तपाईहरु यसलाई उपयोग गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।