सौल– दक्षिण कोरियामा नेपालीको लगानीमा सञ्चालित स्टार रेमिटले विप्रेषण गर्ने रकमको परिमाण बढाएको छ। मे १ देखि लागू हुने गरी वार्षिक ५० हजार डलर अर्थात् ५० लाख रूपैयाँ बराबर पठाउन सकिने स्टार रेमिटले जनाएको छ।
स्टार रेमिटको प्रारम्भमा वार्षिक २० हजार डलर रकम स्वदेशमा पठाउन सकिने गरी कायम गरिएको थियो। दोस्रोपटक उक्त रकमको मात्रा बढाएर ३० हजार बनाइएको थियो।
एकपटकमा ५ हजार डलर अर्थात् ५ लाख रूपैयाँ नेपाल पठाउन सकिने गरी रकम परिमाण बढाइएको स्टार रेमिटका प्रमुख रुद्र शर्माले जानकारी गराए।
बैंक मार्फत मात्रै रेमिट्यान्स कारोबारको स्विकृति प्रदान गरेको कोरिया सरकारले डेढ वर्षअघि देखि रेमिट्यान्स कम्पनीहरूलाई पनि कारोबार अधिकार दिएको थियो। हुण्डी मार्फत् अधिकांश रकम भित्रने गरेकोमा पछिल्लो समय रेमिट्यान्स कम्पनीको प्रवेशले हुण्डी कारोबार घटेको छ।
कोरियाको राजधानी सौलको दोंदेमुनबाट व्यावसायिक कारोबार सुरू गरेको स्टार रेमिट पछिल्लो समय कोरियाबासी कामदारको बीचमा लोकप्रिय भएको शर्माले बताए।
स्टार रेमिटमा अटो डेबिट र म्यानुअल सिस्टम दुवै भएकाले आकर्षण बढेको छ। रेमिटले एप दर्ता गर्नेहरूलाई ५ हजार वनको कुपनको सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।