काठमाडौं– झापाकी दिलासा भारती जापानिज भाषा अध्ययनका लागि दुई महिनाअघि काठमाडौं आइन्। भाषा पास गरेपछि जापान जाने उनको सोच थियो। तर, अब जापान जान सिप चाहिने कुराले उनी निराश भएकी छन्।
भन्छिन्, ‘भाषा पास गरेपछि कोरियाको जस्तै सजिलै जापान रोजगारीमा जान पाइन्छ भनेर सोचेको थिएँ। सिपयुक्त श्रमिक मात्र छनोट गरेर लैजाने कुरा आयो।’
उनलाई भाषा पढ्दा बितेको दुई महिना पनि ‘खेर’ गएजस्तो लाग्न थालेको छ। दिलासाले १२ कक्षा सम्मको अध्ययन सकेकी छन् तर उनीसँग कुनै पनि सिप छैन।
दिलासा जस्तै बुटवलकी प्राप्ति पौडेल पनि जापानिज भाषा अध्ययनरत छिन्। उनले पनि शून्य लागतमा सरकारी तवरमार्फत जापान रोजगारीमा जान पाउने भएसँगै भाषा अध्ययन गर्न सुरु गरिन्। ‘जापान रोजगारी खुल्नेबित्तिकै जान पाइन्छ भनेर भाषा पढ्न सुरु गरेँ। तर, सिपको कुरा आयो, आफूसँग कुनै सिप छैन,’ उनी भन्छिन्।
जापान रोजगारीको हल्ला चलेसँगै उपत्यका लगायत बाहिरका विभिन्न जिल्लाबाट भाषा अध्ययनका लागि काठमाडौंका कन्सल्टेन्सी र भाषा प्रशिक्षण केन्द्रहरूमा धाउने युवाहरूको लर्को लाग्न थालेको छ।
बागबजारको एउटा कन्सल्टेन्सीमा जापानिज भाषा अध्ययन गरिरहेका बाग्लुङका अमित पाठक पनि स्नातक पास गरेर बसेका विद्यार्थी हुन्। तर, आफूसँग रोजगारीका लागि कुनै सिप नभएको उनी बताउँछन्। अमित भन्छन्, ‘ममी बुबाले पैसा पठाएर कलेज पढिरहेको थिएँ, योभन्दा अगाडि केही काम गरेको अनुभव पनि छैन। जापानमा भाषा पढेर पास गरेपछि जान पाइन्छ भन्ने साथीहरूले सुनाए र भाषा पढ्न सुरु गरियो। तर, सिप त चाहिने न रहेछ।’
भाषा पास गरेपछि जापान जान पाइन्छ भन्ने कुरामा उनी ‘ढुक्क’ थिए। तर,अब उनी अमित जापान जान पाइन्न भन्ने कुरामा चिन्तित छन्।
जापान रोजगारीको टुंगो लाग्नु अगावै भाषा अध्ययनका लागि प्रशिक्षण केन्द्र धाउन थालेका प्रायः युवासँग जापान जाने रहर छ। तर, सिप भने छैन। त्यसकारण जापान जाने उनीहरूको सपना पनि धुमिल भएको छ।
मन्त्रालय भन्छ– भाषा अध्ययनकै लागि हतार नगरौं
जापान र नेपालबीच कामदार आपूर्तिबारे समझदारी पत्र (एमओसी) मा उच्च सिपयुक्त जनशक्ति प्राथमिकतामा राखिएको छ। भाषाको मापदण्ड र प्रणालीबारे दुई देशका उच्च अधिकारीबीच संयुक्त समिति गठन हुने र त्यसमा छलफलपछि टुंगो लगाइने बताइएको छ।
यसअघि भाषा अध्ययनका लागि युवाहरूलाई हतार नगर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको थियो। मन्त्रालयका प्रवक्ता नारायण रेग्मी भन्छन्, ‘भाषा अध्ययनकै लागि युवाहरूलाई हतार गर्नुपर्ने आवश्यक छैन, यसबारे थप छलफल भइरहेको छ। भाषासँगै युवाहरूले सिप सिक्न थाले हुन्छ।’
रोजगारीका लागि जापान जाने श्रमिकहरूका लागि जापानी भाषा ऐन ४ तहको हुने बताइएको छ। यी तहको जापानिज भाषा अध्ययनपछि श्रमिकहरूले सामान्यतः बोलीचालीका लागि आवश्यक भाषा सहजै प्रयोग गर्न सक्छन्। कामको प्रकृतिअनुसार भाषा आवश्यक रहेकाले केयरगिभर लगायत कामका लागि भने फरक तहको भाषा आवश्यक पर्ने सरकारी अधिकारीहरू बताउँछन्।
यसअघि जापानको मन्त्रिपरिषद्को बैठकले विदेशी कामदारका सम्बन्धमा नयाँ नीति पारित गरेको थियो। जापानले कृषि, मत्स्यपालन, निर्माण, खाद्य, नर्सिङ, केयरगिभर लगायत १४ वटा क्षेत्रमा विदेशी श्रमिक लैजाने भएको छ। रोजगारीका लागि जापान जाने नेपाली श्रमिकले जापानी नागरिकसरह सेवासुविधा तथा पारिश्रमिक पाउने भएका छन्।
तर जापान रोजगारीमा जानेले भाषासँगै सिप पनि सिक्नुपर्ने भएको छ।
के भन्छन् विज्ञ?
सिपयुक्त श्रमिक छनोट गरेर जापान रोजगारीका लागि पठाउने कुरा श्रमिकहरूकै हकहितका लागि भएको श्रम विज्ञहरू बताउँछन्। सिप नभए पनि भाषा अध्ययन गरिरहेका विद्यार्थीहरु निराश नभई सिप सिकेर जापान रोजगारीमा जान सक्ने श्रम विज्ञ गणेश गुरुङको भनाइ छ।
जापान रोजगारीमा सिपयुक्त श्रमिक पठाउँदा समस्यामा पर्ने सम्भावना कम हुने र काम तथा कमाइ पनि राम्रो हुने सरकारको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।