मनाङ- विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ।
केही वर्षअगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो।
करिब चार हजार ४०० मिटर उचाइमा रहेको तिलिचो आधारशिविर आन्तरिक पर्यटकले खचाखच भरिएको छ। उक्त ठाउँमा तीन वटा होटल मात्रै रहेकाले सबै भरिभराउ भएपछि पाल टाँगेर पर्यटक बस्न बाध्य छन्। बेँसीसहरबाट गाडीमा माथिल्लो मनाङ खागंसार पुगेपछि त्यहाँबाट दुई दिनको पैदलयात्रा गरी १६ हजार २३७ फिटमा रहेको तिलिचो ताल पुग्न सकिन्छ।
खागंसार, श्रीखर्क र तिलिचो आधारशिविर यहाँ आउने पर्यटकका लागि मुख्य बासस्थानको रुपमा रहेको छ। तिलिचो आउने पर्यटक थ्रोङपास गरेर मुक्तिनाथ दर्शन गर्न जाने गरेका छन्। यसरी आउने पर्यटकको चापले गर्दा होटल व्यवसायीले ठाउँको अभावमा भान्सामा समेत पर्यटकलाई बास बसाउँदै आएको खांसार होटलका सञ्चालक सोनाम गुरुङले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।