काठमाडौं– नेपाल राष्ट्र बैंकले धितोपत्र दलाल व्यवसायीहरुलाई मार्जिन ट्रेडिङको अनुमति दिएको छ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेले पूँजी बजारको सुधार र विस्तारका लागि भन्दै मार्जिन ट्रेडिङको व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको थियो।
त्यसपछि राष्ट्र बैंकले निर्देशिका जारी गर्दै धितोपत्र व्यवसायीहरुले नेपाल धितोपत्र बोर्डले जारी गरेका नियम कानुनभित्र रही मार्जिन ट्रेडिङको कारोबार गर्नसक्ने व्यवस्था गरेको हो।
अब सेयर लगानीकर्ताले सेयर बजारमा लगानीका लागि धितोपत्र दलाल व्यवसायीबाट ऋण लगायतका अन्य सुविधासमेत पाउने छन्। धितोपत्र नै धितोमा राखेर पनि ऋण पाउनसक्ने भएकाले त्यस्तो व्यवस्थाले बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ।
नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजारमा मार्जिन कारोबार सुरु गर्न धितोपत्र दलाल व्यवसायीलाई पत्राचार गरिसकेको छ। कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि २०७५’ तयार भई लागू भइसकेको छ।
सोही कार्यविधिअनुसार आवश्यक कार्य गर्न तथा गराउन धितोपत्र दलाल व्यवसायीलगायत पत्राचार भइसकेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।