काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी भित्र्याएर प्रशस्त लाभ लिन बाह््य लगानीकर्ताहरुलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन वैदेशिक लगानी र प्रविधि आवश्यक रहेकाले त्यसलाई भित्र्याउने उद्देश्यका साथ सरकारले ‘नेपाल लगानी सम्मेलन’ आयोजना गरेको पनि स्पष्ट पारे।
बिहीबार काठमाडौंको भृकुटीमन्डपमा आयोजित ‘८औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उनले नेपाल भित्रको पूँजी परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे।
समृद्धिको अभियानलाई तीव्रता दिन वैदेशिक लगानी भित्र्याउन जोड दिइएको प्रधानमन्त्रीको भनाइ थियो। प्रधानमन्त्री ओलीले मुलुकमा लगानीको वातावरण बनाउन सरकारले विकास र सुशासनमा जोड दिएको पनि दोहोर्याएका थिए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकलाई समृद्ध बनाउन सरकारले पूँजी, प्रविधि र दक्ष जनशक्ति निर्माणमा सक्दो पहल गरिरहेको बताए। उनले रोजगारीका लागि बाहिर गएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउनेगरी सरकारले उद्योगधन्दाको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी र व्यापार दुवै भित्र्याउन सो मेला आयोजना गरिएको बताइन्। उनले लगानी सम्मेलनलाई सफल बनाउन पनि सो व्यापार मेला आयोजना गरिएको पनि स्पष्ट पारिन्।
५ दिनसम्म चल्ने मेलामा भारत, चीन, बंगलादेशसहितको २ सय २५ वटा स्टल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।