मंगलबारे (इलाम)- स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ। पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो।
पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबेढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालनमा ल्याएको समितिका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिए।
सदरमुकामबाट २१ किमि उत्तरको यो पोखरी स्थानीयवासीको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाइ वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भएको हो।
क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनीमा फैलिएको छ। विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिनेछ।
डुंगामार्फत पोखरीको सबै क्षेत्र घुम्न आधा घन्टाभन्दा बढी लाग्ने समितिका उपाध्यक्ष नीरबहादुर फागोले बताए। यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयवासीसँगै टाढाबाट पनि रमाइलो गर्न आउने पर्यटकको संख्या बढेको छ।
२०७२ वैशाख १ गतेदेखि पोखरी संरक्षणको काम थालिएको हो। दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलो माटो र ढुंगाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत बाँध बनाइएको छ।
यहाँ डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारी लगायत क्षेत्रमा आवतजावत गर्ने पर्यटक पनि पुग्ने गरेका छन्। फरक विशेषता भएका यी क्षेत्रलाई प्याकेज बनाएर पर्यटन प्रवर्द्धन गर्न सके थप फाइदा पुग्ने सरोकारवालाको भनाइ छ। त्यहाँसम्म पुग्ने सडकको बिग्रँदो अवस्थाले भने समस्या आएको स्थानीयवासी बताउँछन्।
आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएकाले सडकको अवस्था सुधारलाई प्राथमिकता दिइएको सन्दकपुर गाउँपालिका प्रमुख उदय राईले बताए। तत्काल सडकलाई मर्मत गर्दै यातायात व्यवस्थालाई सहज बनाउने उनको भनाइ छ।
होमस्टेको तयारी
ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयवासीले होमस्टे सञ्चालनको तयारी गरेका छन्। अहिले पनि त्यस क्षेत्रका घरमा ५० जनासम्म अतिथिलाई खाने, बस्ने व्यवस्थाको चाँजोपाँजो मिलाइएको छ।
पोखरीमा माछापालन थालिएपछि आगन्तुकका लागि आकर्षणको केन्द्र भएको छ। तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुङ्गीसमेत पोखरीमा आउने गरेका छन्। पोखरी आसपास लोपोन्मुख सुन गोहोरो र विभिन्न प्रकारका सुनाखरी पाइन्छन्।
पोखरी विस्तारसँगै पर्यटन गन्तव्य निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जिल्ला भू–संरक्षण कार्यालयले सघाएका हुन्। 'जैविक विविधता रक्षासँगै पर्यापर्यटनको अथाह सम्भावनासँगै जमुनावासीको पर्यटन मोह देखेर साथ दिएका हौँ,' भू–संरक्षण कार्यालय प्रमुख विजेन्द्रकृष्ण सिंहले भने।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।