सोलुखुम्बु– जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ। मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई फाप्लु आउने गरेकाले यहाँ विमानको चाप बढेको हो।
करीब चार दिनदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान पनि फाप्लुमा अवतरण भएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ।
नियमितरूपमा तीनदेखि चार वटा मात्र विमान आवतजावत हुने फाप्लु विमानस्थलमा हाल १२ देखि १५ विमान अवतरण हुने गरेको छ। बुधबार मात्रै १२ विमानले उडान गरेका छन्। मौसममा आएको परिवर्तनले लुक्लाका लागि उडेका विमान फाप्लुमा अवतरण गर्नुपरेको फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्माले जानकारी दिए।
फाप्लु ओर्लेका यात्रुलाई हावाको गति कम भएको समयमा लुक्ला पुर्याउने कार्य भएकोसमेत उनको भनाइ छ।
बिहान लुक्ला विमानस्थलमा हिउँको थुप्रो लाग्ने र दिउँसो हावाको तीव्रता बढेकाले फाप्लुमा अवतरण गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले बताए। मौसम प्रतिकूलता भए पनि बुधबार लुक्ला विमानस्थलमा ४० वटा उडान भएको उनको भनाइ छ। अहिले हिमाल आरोहणको ‘सिजन’ सुरु भएकाले अधिकांश उडानबाट पर्यटक तथा हिमाल आरोही एवं सामग्री आउने गरेका छन्।
खुम्बु क्षेत्रमा आरोहणको समय भएकाले लुक्लामा हवाई उडानको चाप बढेको बताइएको छ। लुक्लाको विकल्पमा सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल प्रयोग गर्ने गरिएको छ।
फाप्लु विमानस्थलमा अवतरण गराइएका केही पर्यटक गाडीमार्फत खुम्बुपासाङल्हामु गाउँपालिका–१ खरिखोलासम्म जिपमार्फत जाने गरेका छन्।
खरिखोलादेखि नेपालीका लागि एक र विदेशीका लागि दुई ‘क्याम्प’मा लुक्ला पुग्न सकिने दलित समुदायका तर्फबाट पहिलो सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।