गुलरिया, बर्दिया- बर्दियाको बढैयाताल गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आर्थिक वर्ष २०७४/७५ को पारित बजेट सार्वजनिक गरिएको छ।
बढैयाताल गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्रको पूर्वाधार विकास एवं पर्यटन प्रवर्द्धनलाई मुख्य योजना बनाई रु ७९ करोड १९ लाख बजेट पारित भएको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए।
सभाले पारित बजेटअन्तर्गत पुजीगततर्फ रु ७४ करोड ३६ लाख ५६ हजार र चालुतर्फ रु चार करोड ८२ लाख ४४ हजार विनियोजन गरेको छ। गाउँपालिका कार्यालयको भौतिक पूर्वाधार निर्माण, आवश्यक सवारीसाधन, हेभी इक्युपमेन्टलगायतका आधारभूत पूर्वाधारका लागिसमेत बजेट पारित गरेको छ।
गाउँपालिका अन्तर्गतका सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, ढल, विद्युत लगायतका आवश्यक पूर्वाधार निर्माणमा महत्व दिई रकम विनियोजन गरिएको अध्यक्ष श्रेष्ठले बताए।
पशुपक्षी, दुग्धजन्य वस्तु उत्पादन बढाउँदै कृषिउपज संकलन क्षेत्र निर्माण गर्ने नीति गाउँपालिकाले लिएको हो। गाउँपालिकामा अवस्थित जिल्लाकै महत्वपूर्ण सिमसार क्षेत्र बढैयाताल लगायतका पर्यटकीयस्थललाई पर्यापर्यटनसँग जोड्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने नीति पारित भएको अध्यक्षको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।