काठमाडौं- शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुन लागेको लगानी सम्मेलनमा ३ दर्जनभन्दा बढी विदेशी उच्च पदस्थ अधिकारीले सम्बोधन गर्ने भएका छन्।
सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टबीग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन सहभागी हुने तय भएको छ।
त्यस्तै विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभुति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र विकास सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस र एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्य सञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ लीले सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसैगरी, माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, युनिलिभर, लगायतका विश्व प्रसिद्ध कम्पनीका उच्च पदस्थ प्रतिनिधिहरुको पनि उपस्थिति रहनेछ ।
सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानी अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुको प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानी सम्बन्धी अनुभवलगायत ७ वटा विषयगत सत्रमा सञ्चालन हुनेछ।
नेपाल सरकारले यस लगानी सम्मेलनमार्फत लगानीकर्तालाई नेपालमा लगानीका अवसर, लगानी प्रवर्धनका लागि सरकारले लिएको नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्ने अपेक्षा लिइएकोछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।