धनगढी– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यसपटकको लगानी सम्मेलनले पनि विदेशी लगानी भित्र्याउन सहयोग नगर्ने दाबी गरेका छन्।
नयाँ शक्ति पार्टीले बुधबार धनगढीमा आयोजना गरेको 'देशको विद्यमान परिस्थितिमा राजनीतिक दलको भूमिका' विषयक खुल्ला अन्तर संवाद’ कार्यक्रममा उनले सरकारले नै लगानीको वातावरण नै बनाउन नसकेको बताए।
'यस पटकको लगानी सम्मेलन पनि विगतको निरन्तरता हो,’ पूर्व प्रधानमन्त्री भट्टराईले भने, 'लगानी सम्मेलनमा विभिन्न मुलकका लगानीकर्ता आउँछन्, खान्छन् र बस्छन्। ठूलो लगानी ल्याउने प्रतिबद्धता गर्छन्। तर, लगानी आउँदैन।'
पूर्व प्रधानमन्त्री भट्टराईले विगतमा भएको लगानी सम्मेलनमा पनि यस्तै भएको बताए। उनले नेपालीको प्रतिव्यक्ति वार्षिक औसत आय आगामी दश वर्षभित्र अन्तर्राष्ट्रिय औसत प्रतिव्यक्ति आयको हाराहारीमा पुर्याउन नेपालको आर्थिक वृद्धिदर १० प्रतिशत भन्दा बढी पुर्याउनुपर्ने बताए।
उनले भने, 'त्यो लक्ष्य प्राप्त गर्न नेपाल सरकारले विकास कार्यमा १० खर्ब रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ, तर अहिले नेपालको क्षमता चार खर्ब रुपैयाँ लगानी गर्ने मात्रै रहेको छ। पूर्व प्रधानमन्त्री भट्टराईले नेपालको विकास लगानी १० खर्ब रुपैया पुर्याउन विदेशी लगानी आवश्यक रहेको र त्यसका लागि विप्पाजस्ता सम्झौता आवश्यक रहेको बताए।
उनले विदेशी लगानी भित्राउन सरकारले देशभित्र शान्ति र सुशासन कायम गर्न आवश्यक रहेको बताए। उनले वर्तमान सरकारले सिके राउतसँग गरेको सम्झौता, विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध, भ्रष्टाचार, कर्मचारीहरूको कमिनखोरी, अपहरण, फिरौती, हत्याहिंसा आदिका कारण विदेशी लगानीको वातावरण अझै बन्न नसकेको चर्चा गरे।
उनले सरकारले सिके राउतसँग गरेको सम्झौताबाट सिकेलाई ठग्न खोज्दा आफैं ठगिएको टिप्पणी गरे। उनले पृथकतावादी आन्दोलन गरिरहेका सिकेसँग सरकारले जनअभिमत शब्द राखेर सम्झौता गर्नु आपत्तिजनक रहेको बताए।
नेता भट्टराईले पृथकतावादी सिकेसँग राजनीति सम्झौता गर्न सक्ने सरकारले पहिचान र प्रदेश सीमांकनको माग गरिरहेका थारु समुदायको क्रममा भवितव्यबस भएको टीकापुर घटनामा संलग्न भएको आरोप लगाएर सांसदलाई जेलमा राख्नु गलत भएको बताए।
उनले संघीय सांसद् रेशम चौधरी लगायत ११ जनालाई जन्मकैद सजाय सुनाएका मध्ये पाँच जना घटना हुनु भन्दा पहिले नै घाइते भएर अस्पताल भर्ना भएका व्यक्ति परेको बताए।
पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक राजेन्द्रप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश इञ्चार्ज कृष्ण चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी स्थानीयहरूले भट्टराईसँग विभिन्न जिज्ञासा राखेका थिए। यसअघि पत्रकारहरूसँग कुरा गर्दै संयोजक डा भट्टराईले टीकापुर घटनालाई आपराधिक घटनाका रुपमा अदालतमा लग्नु नै गलत भएको बताए।
उनले टीकापुर घटनालाई सरकारले राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने अदालत लगेकोमा दुःख व्यक्त गरे। उनले सिके राउतको पृथकतावादी आन्दोलनलाई पनि सरकारले राजनीतिक रुपमा समाधान गरेको बेला टीकापुर घटना पनि त्यसै गरी समाधान गर्नुपर्ने बताए।
'प्रदेशको सीमांकनको विषयमा असन्तुष्टि लिएर र पहिचानका लागि गरेको थारुहरूको आन्दोलन राजनीतिक आन्दोलन थियो,’ उनले भने, 'टीकापुर आन्दोलनलाई सरकारले राजनीतिक रुपमा समाधान गरिनुपर्छ। यो नै बुद्धिमानी हुन्छ। दण्ड गरेर झन् घाउ मात्रै चहर्याउँछ र थप द्वन्द्वको वातावरण बनाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।