काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि नयाँ आयोजना छनौट गर्नुभन्दा पुरानै आयोजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
निर्माणको विभिन्न चरणमा चलिरहेका आयोजनालाई निरन्तरता दिँदा बजेट अभावको नहुने भएकाले समेत पुरानै आयोजनामा थप बजेट विनियोजन गरी पूर्णाता दिनपर्ने जोड मन्त्री खतिवडाले गरेका हुन्। आगामी आर्थिक वर्षको बजेट तयारी चलिरहँदा मन्त्री खतिवडाले नयाँ भन्दा पुराना आयोजनालाई सरकारले प्राथमिकतामा राख्ने संकेत गरेका हुन्।
मंगलबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले भने, ‘कतिपय आयोजनाहरु बजेट अभावकै कारणअघि बढ्न सकेनन् भन्ने पनि सुनियो। चालु आर्थिक वर्षको लागि अरु शीर्षकमा रहेको बजेट रकमान्तर गरेर भएपनि व्यवस्था गरौंला। तर आगामी आर्थिक वर्षका लागि नयाँ आयोजना नराखौं। भइरहेका आयोजनालाई नै प्रयाप्त बजेट छुट्याऔं।’
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि कुनै नयाँ आयोजनाका लागि श्रोतको सुनिश्चितता नभएसम्म त्यस्ता आयोजनालाई वार्षिक कार्यक्रममा राख्न नहुने धारणा राखे। सोही बैठकमा बोल्दै मन्त्री महासेठले नयाँ आयोजना कम राखेर पुराना र चलिरहेका आयोजनालाई बढी प्राथमिकतामा पार्न सकिने बताएका हुन्।
चालु आर्थिक वर्षमा भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले १० प्रतिशत आयोजनामात्र नयाँ ल्याएको र बाँकी ९० प्रतिशत पुरानै आयोजनामा बजेट छुट्याएको उनको भनाई थियो।
मंगलबार बसेको विकास समितिको बैठकले संघ, प्रदेश र स्थानिय तहले हेर्नेगरी छुट्याईएका बहुवर्षीय आयोजनाका साथै सडक र पुलको मापदण्ड तथा ठेक्का लगाइएका र निर्धारित समयमा सम्पन्न हुन नसकेका आयोजनाका विषयमा अर्थमन्त्री र भौतिक योजना तथा पूर्वाधार मन्त्रीलाई बोलाएर छलफल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।