काठमाडौं- त्रिभुवन विश्वविद्यालय एमबिएस तर्फको दोस्रो सेमेस्टरको परीक्षा भर्खरै सकिएको छ। डिन कार्यालयले गत चैत ३ गते लिएको मानव संशाधन व्यवस्थापन (५१३ पत्र) विषयको 'केस स्टडी' अन्तर्गत एउटा प्रश्न राखिएको छ, जसमा ग्लोबल आइएमई बैंकको भद्रगोल अवस्थाको चित्रण गरिएको छ। बैंकको फितलो व्यवस्थापनबारे उल्लेख गर्दै कर्मचारीमाथि हुने विभेदलाई पनि प्रश्नमा समेटिएको छ। वृत्ति-विकासका क्रममा पनि क्षमतावान् कर्मचारीलाई नै सूचीबाट हटाइनु र सिइओ परिवर्तनसँगै व्यवस्थापन पक्ष डामाडोल भइरहेको अवस्थालाई प्रश्नका रुपमा चित्रण गरिएको छ।
स्मरण रहोस्, गत माघ ७ गते बैंक सञ्चालकले आफू अनुकूल काम नगरेपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनकराज पौडेललाई राजीनामा दिन बाध्य पारेका थिए। ४ वर्षका लागि नियुक्त पौडेलले १४ महिनामै राजीनामा दिनुपरेको थियो।
बैंक स्थापना भएको १२ वर्षमा ग्लोबल आइएमईबाट ५ जना सिइओले कार्यकालअघि नै राजीनामा दिइसकेका छन्। बैंकमा राजीनामा दिने कर्मचारीको संख्या पनि ह्वात्तै बढेको छ। कर्मचारीहरु व्यवस्थापन पक्षसँग असन्तुष्ट छन्।
जानकारहरुका अनुसार बैंकका अध्यक्ष चन्द्र ढकालको अव्यावसायिक र अनावश्यक दबाब सहन नसकेर सिइओ र कर्मचारीलाई टिक्न गाह्रो छ।
कुनै पनि वित्तीय संस्थाको अवस्था झल्कने गरी बैंकको नामै किटेर त्रिभुवन विश्वविद्यालयले समेत आफ्नो प्रश्नपत्रमा 'केस स्टडी'का रुपमा राख्नुले बैंकको व्यवस्थापनमाथि नै प्रश्नचिह्न खडा भएको छ।
यस्तो छ अंग्रेजीमा सोधिएको प्रश्नको अनुवाद-
१.तलको अवस्था ध्यानपूर्वक पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्। (३०)
३८ वर्षीया सरला श्रेष्ठले ९ वर्षपहिले आइएमई वित्तीय संस्थामा काम सुरु गरिन्। उक्त वित्तीय संस्था अर्को संस्थासँग मर्ज भएपछि उनी ग्लोबल आइएमई बैंककी कर्मचारी बनिन्। विभिन्न व्यावसायिक संस्था अन्तर्गत रही विभिन्न तहमा काम गरेकाले उनले आफूलाई योग्य, असल, नैतिक, लगनशील र आवश्यक क्षमता भएको कर्मचारीका रुपमा प्रमाणित गरिन्। कार्यक्षमता प्रदर्शन गर्न उनमा कुनै कमी थिएन। सुरुदेखि नै उनको प्रस्तुति राम्रो थियो।
विस २०७४ मा उनी बढुवाका लागि योग्य भइन्, नयाँ जिम्मेवारीका लागि उत्साहित पनि थिइन्। सुपरभाइजर र विभाग प्रमुखले उनलाई प्रोत्साहन गरेका थिए। कार्यालयका सबै कर्मचारी बढुवाका लागि उनी बलियो उम्मेदवार भएको कुरा प्रायजसो गरिरहन्थे। उनको कार्यक्षमता, कार्यालयका वरिष्ठ अधिकारी र सहकर्मीबाट पाएको प्रोत्साहनले उनलाई झनै आशावादी बनाएको थियो। यही समयमा नै उनले बैंकिङ तालिम र माथिल्लो तहको अध्ययन पनि राम्रो नम्बरका साथ पनि पूरा गरिन्। बढुवाका लागि भएको अन्तर्वार्ता दिएपछि आफ्नो बढुवा हुनेमा उनी ढुक्क थिइन्। किनभने उनले सबै प्रश्नको उत्तर विश्वासका साथ र सही उत्तर दिएकी थिइन्।
दुर्भाग्यवश, बढुवाको नतिजाले चकित बनायो, उनको नाम बढुवाको सूचीमा थिएन। उनीभन्दा कनिष्ठ र कमजोर कार्यक्षमता भएकाहरु बढुवा भएकाले उनलाई निकै दुःखी बनायो। विभागीय प्रमुख तथा अन्तर्वार्ता लिनेमध्येका मिस्टर शर्मा उनको कार्यकक्षमा आए र आगामी वर्ष निश्चय पनि बढुवामा हुनेमा विश्वास दिलाए। आफ्नो पथ प्रदर्शकका साथै आदर्शसमेत भएकाले उनले शर्माका कुरामा विश्वास गरिन्।
६ महिनापछि बजारका प्रतिभावान् व्यक्ति आकर्षित गर्न र अन्य बैंकबाट अफर पाएकाहरुलाई समेत भित्र्याउने गरी बैंकले सूचना प्रकाशित गर्यो। श्रेष्ठ जस्ता धेरै कर्मचारी बढुवाको नतिजाबाट दिक्दार भएका थिए। यसपटक पनि श्रेष्ठले बैंकमा बढुवाका लागि आवेदन दिइन् र अन्तर्वार्तासमेत दिइन्। सदाझैं यसपटक पनि उनको अन्तर्वार्ता राम्रो भएको थियो तर उनै शर्माले यसपटक पनि बढुवा गर्न नसकिएको तर ६ महिनापछि भने बढुवा गर्न लागिएको बताए। उनले फेरि शर्मालाई विश्वास गरिन् र उनका सुझाव स्वीकार गरिन्।
नियमित तालिकाअनुसार बैंकले बढुवा हुन सफल उम्मेदवारको सूची प्रकाशित गर्यो। तर अपत्यारिलो कुरा के भयो भने उनको बढुवा हुने उम्मेदवारको सूचीमा उनको नाम समावेश थियो। अन्तर्वार्ताका लागि उनले राम्रो तयारी गरिन् र अन्तर्वार्ता परीक्षामा पनि राम्ररी प्रस्तुत भइन्। फेरि पनि नतिजा प्रकाशन हुँदा श्रेष्ठको नाम बढुवा हुने उम्मेदवारको सूचीमा थिएन। उनी विभागीय प्रमुख शर्मा र सिंगो व्यवस्थापनको व्यवहारबाट निकै दु:खी भइन्। स्वच्छ मूल्यांकन र वृत्तिविकासका अवसर संस्थाबाट प्राप्त हुनेमा उनको विश्वास गुम्यो। बैंकको सिइओ परिवर्तन भएकाले बढुवा हुने उम्मेदवारको समेत नाम परिवर्तन भएको उनको दाबी छ। नतिजा निस्केकै दिन प्रतिभावान् उम्मेदवार भित्र्याउन मागेको विज्ञापनमा आवेदन दिने अन्तिम दिन थियो। शर्माले उनलाई फेरि एकपल्ट आवेदन दिन आग्रह गरे। तर श्रेष्ठले मेगा बैंक, सेन्चुरी कमर्सियल बैंक र जनता बैंकमा पनि आवेदन दिएको बताइन्।
१. संस्थामा कार्यक्षमता व्यवस्थापन प्रणाली र जीवनवृत्ति व्यवस्थापन संस्कृतिको चित्रण गर्नुहोस्।
२. माथि उल्लेख गरिएको घटनाका आधारमा नेपालको बैंकिङ क्षेत्रमा कर्मचारी भर्ना र छनोटको अवस्था प्रस्तुत गर्नुहोस्।
३. यो घटनाको मुद्दाको विषय के हो? यस्तो अवस्थाका कारण संस्थामा पर्न सक्ने सम्भावित असरहरु के हुन सक्लान्?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।