काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदहरुसँग मंगलबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले गत वर्षको बजेट बिनियोजनमा कर्णालीका महत्त्वपूर्ण योजनाहरु छुटेको बताउँदै यसपटक कर्णालीलाई प्राथमिकतामा राखिने बताए। 'गत वर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्यो क्रम दाहोरिँदैन', उनले भने, 'सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्छ।'
प्रधानमन्त्री ओलीले जनसंख्याका आधारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको बताए। 'कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ', उनले भने, 'यस भूगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मूल प्रवाहमा ल्याउनुपर्छ।'
कर्णाली सम्भावनायुक्त प्रदेश भएकोले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्त्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए। 'यहाँको खनिज, जलस्रोत,जडिबुटीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जानु जरुरी छ।'
प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरुको विवरण बैशाखको पहिलो हप्ताभित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन सांसदहरुलाई निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।