काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार प्राडा तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ।
३२औं प्राज्ञ सभाले सो पुरस्कार सिफारिससम्बन्धी प्राज्ञ परिषद्को निर्णयलाई अनुमोदन गरेको सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिए। सो पुरस्कार प्रत्येक चार वर्षमा एक पटक दिइन्छ।
यस्तै प्रत्येक दुई वर्षमा प्रदान गरिने ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ डा वीणा पौडेल घिमिरे र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा रामावतार यादवलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशी जनही रु एक लाख रहेको छ।
‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ विमल निभा (विमलकृष्ण श्रेष्ठ) र वर्ष २०७४ ध्रुव सापकोटालाई दिइनेछ।
यस्तै रु एक लाख राशिको तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७३’ अब्दुल लतिफ सौक (उर्दू भाषा) र वर्ष २०७४ को सोमबहादुर धिमाल (धिमाल भाषा) लाई दिइनेछ। पहाडी हिमाली क्षेत्रमा बोलिने ‘मातृभाषा साहित्य पुरस्कार २०७३’ पदम राई र २०७४ धनबहादुर माझीलाई प्रदान गर्ने निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।