ललितपुर– काठमाडौँबाट १५ किलोमिटर दक्षिणी भेगमा अवस्थित गोदावरी नगरपालिकालाई आगामी पाँच वर्षभित्र ‘पर्यटन नगरी, समृद्ध गोदावरी’को रुपमा विकसित गरिने भएको छ।
भौगोलिकरुपले नगरका ८, ९, १२, १३ र १४ नं वडा काठमाडौं, महानगरपालिकासँग तथा वडा नं १ र २ महालक्ष्मी नगरपालिकाको सिमानासँग जोडिएका छन् । यसैगरी वडा नं ५, ६ र ७ वाग्मती र कोञ्ज्योसोम गाउँपालिकाको सिमानासँग गाँसिएका छन्।
अंग्रेजी अक्षरको सी आकारमा रहेको यस नगरपालिकालाई साँच्चिकै समृद्ध बनाउन नगरका पदाधिकारी, वडाध्यक्ष, समाजसेवी, वुद्धिजीवी, नागरिक समाज, शिक्षाप्रेमीलगायत लागिपरेका छन् । समृद्ध नगर निर्माणमा सर्वप्रथम यहाँका विभिन्न ठाउँलाई पर्यटनमैत्री क्षेत्र बनाउनु कदम चालिने छ।
पर्यटन नगरी निर्माणमा यहाँका स्रोत साधनलाई सदुपयोग गरिने लक्ष्य रहेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए। नगरभित्र पर्यटकीय क्षेत्रको रुपमा विभिन्न स्थान विस्तार गरिने योजना बनाइएको छ।
“गोदावरी क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न मजबुत व्यवस्थापन गरिने छ,” उनले भने। पर्यटकीय क्षेत्र विकासका लागि वडा नं ३ मा अवस्थित गोदावरीे, २ मा रहेको विशंखुनारायणको कोटडांडा, ७ मा रहेको सुन्तलीडांडा, १० को भांगावन, ५ को मनकामना मन्दिर, १३ को सन्तानेश्वर, १० को बज्रबाराही मन्दिर तथा ६ नं वडामा पर्ने टीकाभैरव मन्दिरलगायतका क्षेत्रमा गुरुयोजना लागू गरिने नगरप्रमुख महर्जन बताए।
“पर्यटकीय नगर बनाउन गोदावरी नगरपालिका–६ स्थित सुन्तलीडाँडामा काठमाडौँको मनमोहक दृश्य देखिने गरी भ्यूटावरको निर्माण गरिने छ,” उनले भने। वडा नं १० स्थित भाङ्गावन तथा काठमाडौँ उपत्यकाको दृश्यावलोकनका लागि वडा नं २ विशंखुनारायणस्थित कोटडाँडामा समेत भ्यूटावरको निर्माण गरिने लक्ष्य रहेको नगरप्रमुख मजर्हन बताउँछन्।
गोदावरी क्षेत्रमा पर्ने वनस्पति उद्यानलाई थप व्यवस्थित बनाउँदै पर्यटक आकर्षणको केन्द्र बिन्दुको रुपमा विस्तार गरिने छ । यहाँको प्राकृतिक स्रोत साधनलाई व्यवस्थित गर्दै लैजाने योजना छ । पर्यटक आकर्षित गर्न सुन्तलीडाँडा तथा कोटडाँडामा होमस्टेको अवधारणा ल्याइने महर्जनले बताए। सो क्षेत्रमा नयाँ निर्माण हुने संरचना पर्यटनमैत्री हुनेछन् ।
मिर्मिरे उज्यालोमा चियाको चुस्कीसँगै काठमाडौँको मनमोहक दृश्यलाई क्यामरामा कैद गर्न सकिने छ । यहाँबाट हिमालको समेत तस्वीर लिन सकिने छ । पर्यटन क्षेत्रको विकासले नै आम नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्ने महर्जन बताउछन्।
झररुवासीस्थित सन्तानेश्वर मन्दिरको पर्यटकीय एवं धार्मिक दृष्टिकोणले विकास गर्दै लैजाने नगर उपप्रमुख मुना अधिकारीले बताइन्। पर्यटकलाई आकर्षित गर्न मिनी मोनोरेलको अवधारणा ल्याउन सकिने उनको भनाइ छ। सो मन्दिरमा पूजाआजा गर्नाले निःसन्तानले सन्तान प्राप्त गर्ने जनविश्वास रहेको छ ।
गोदावरी नगरपालिका– ५ का वडाध्यक्ष मिलन सिलवाल यहाँ स्थापना गरिएको मनकामना मन्दिरलाई थप व्यवस्थित बनाएर पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिने बताउछन्। उपत्यकाबाट नजिकै रहेको उक्त मन्दिरमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्ने उनले बताए।
यहाँ अवस्थित ऐतिहासिक तिलेश्वर मन्दिरको संरक्षण र सम्वद्र्धन गर्नसकेमा पर्यटन नगरका रुपमा विकास गर्न सकिने उनले विश्वास व्यक्त गरे। सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई सहज बनाउन आवश्यक गृहकार्य गरिरहेको सिलवालले बताए।
सिंगो नगरलाई समृद्ध तुल्याउन नगरप्रमुख तथा उपप्रमुखको मात्र जिम्मेवारी नभई वडाध्यक्षको पनि रहेको वडा नं का वडाध्यक्ष भास्कर थापा बताछन्। उनले समृद्ध नगर निर्माणमा समग्र नगरवासीले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुुपर्नेमा जोड दिए। समृद्ध नगर बनाउन कृषि, पर्यटन, पशुपालन, उद्योगलगायतका क्षेत्रको समेत विकास गरिनुपर्ने उनको भनाइ छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।