काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्ने आश्वासन दिएका छन्। कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँगको अन्तर्क्रियामा उनले यस्तो आश्वासन दिएका हुन्।
प्रधानमन्त्री कार्यालयमा भएको भेटमा सरकारले भन्ने गरेको समृद्धि कर्णालीसहित हुने कि कर्णालीरहित हुने भनेर सांसदहरुले प्रश्न गरेका छन्।
नीति तथा योजना र बजेट बनाउँदा कर्णालीलाई प्राथमिकता नदिइएको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीको ध्यानकर्षण गराएका हुन्। विगत एक वर्षमा सरकारले कर्णालीलाई हेर्ने दृष्टिकोण पहिले भन्दा फरक नदेखिएको गुनासो सांसदहरुले गरेका थिए। पूर्वमन्त्री समेत रहेका रुकुम पश्चिमका सांसद् जनार्दन शर्माले प्रधानमन्त्रीसँग ‘जनतालाई जफाव दिने?’ भनेर प्रश्न गरेका थिए। उनको प्रश्न थियो, ‘नेपालको समृद्धिमा कर्णालीको सहभागिता कसरी हुन्छ? परिकल्पना गरिएको समृद्धि कर्णालीसहितको हो कि बाहेकको?’
कर्णालीका १६ जना सांसद सहभागी कार्यक्रममा उनीहरुले कर्णालीको वर्तमान अवस्था प्रधानमन्त्री समक्ष राखेका थिए। विकास निर्माणमा सरकारको ध्यान नपुगेको, जीवनस्तर उकास्ने बारे खासै कार्यक्रम लागू नभएको र शिक्षा, स्वास्थ्य जस्ता विषयमा सरकारले ध्यान नपुगेको गुनासो उनीहरूको थियो।
सांसदका गुनासाहरू सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सन्तुलित विकासको अवधारणा सहितको बजेट निर्माण गर्ने बताएका छन्। विगतमा आफ्नो ध्यान पुग्न नसकेको स्वीकार्दै आगामी दिनमा ध्यान दिने बताएका पूर्व मन्त्री शर्माले बताए। उनले प्रधानमन्त्रीको धारणाबाट आफू खुसी भएको बताउँदै भने, ‘बाँकी आगामी वर्षको योजना र कार्यक्रम प्रस्ततीले देखाउनेछ। प्रधानमन्त्री नै बोलिसकेपछि केही फरक पर्ला भन्ने आशा गरेका छौं।’
सांसदहरूले सडक पूर्वाधारको विषय जोडतोडले उठाएका छन्। सडक पूर्वाधारमा कर्णाली करिडोर, भेरी करिडेर, मदन भण्डारी पूर्वपश्चिम राजमार्ग, राप्ती लोकमार्गलगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।
यी सडकहरूमध्येमा कतिपयमा गत आर्थिक वर्षमा बजेट समेत नछुट्याइएको भन्दै आपत्ति जनाएका थिए। तिला कर्णाली, फुर्कोट कर्णाली, बेतान कर्णाली, पजगदुल्ला कर्णाली परियोजना ट्रान्समिसन लाइनका कारण अघि बढ्न नसकेको बताएका थिए।
कर्णाली प्रदेशमा दुई ठूलो विमानस्थल बनाउन समेत माग गरेका छन्। एउटा कर्णाली प्रदेश विमानस्थल र अर्को पर्यटक लक्षित हुम्लामा ठूलो विमानस्थल निर्माणको योजना अघि सारेका छन्।
अर्ग्यानिक कृषि उत्पादनमा ध्यान दिँदै बजारीकरणका लागि सरकारले ध्यान दिनुपर्ने, त्यहाँ रहेका तामा फलाम खानी, रत्न, पत्थर खानी, दैलेखमा भएको पेट्रोलियम पदार्थ उत्खननका विषयमा पनि उनीहरुले कुरा राखे।
पूर्वाधार र शिक्षाको विकासका लागि कर्णालीमा वैकल्पिक सोच जरुरी रहेको पनि उनीहरूले बताए। आफूले प्रधानमन्त्रीसँग राखेका विषयमा जानकारी दिँदै पूर्व मन्त्री शर्माले भने, ‘अल्पायु छ। भौगोलिक रुपमा विकट छ। त्यसैले नीतिगत रूपमै वैकल्पिक सोच अघि सार्न जरुरी छ।’
जेठसम्म हिउँ रहने ठाउँमा असारम फ्रिज हुने बजेटले विकास नहुने आफूले बताएको शर्माले उल्लेख गरे।
सबै विषय सुनिसकेपछि प्रधानमन्त्रीले सम्बोधन गर्न तयार रहेको आश्वासन दिएका छन्। आगामी बजेटमा कर्णालीलाई हेर्ने आफ्नो दृष्टिकोण देखिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।