काठमाडौं- जिल्ला अदालत काठमाडौंले लिखतसम्बन्धी कसुर मुद्दामा पहिलो पटक विदेशी कूटनीतिक निकायलाई बोलाउने आदेश गरेको छ।
जिल्ला अदालत काठमाडौंले अमेरिकी डिभी चिठ्ठा परेका एक जना नेपालीका विषयमा परेको मुद्दामा बकपत्रका लागि अमेरिकी दूतावासका प्रतिनिधि बोलाउने आदेश गरेको हो।
जिल्ला न्यायाधीश श्रीकृष्णप्रसाद भट्टराईको इजलासले चैत ११ गते अमेरिकी दूतावासका जेम्स गुआन्सीलाई जाहेरीमा बकपत्रका उपस्थित हुन आदेश जारी गरेको हो।
अमेरिकी दूतावासको जाहेरीमा मुद्दा चलिरहेको भन्दै जिल्ला अदालतले ‘एसिस्टेन्ट रिजनल सेक्युरिटी अफिसर-इन्भेस्टिगेटर’ गुआन्सीलाई सरकारी वकिल कार्यालय काठमाडौंमार्फत उपस्थित गराउन आदेशमा भनिएको छ।
जिल्ला अदालतले प्रमाण ऐन-२०३१ दफा १८ को प्रयोजनार्थ बुझ्न आपसी कानुनी सहायता सन्धि ‘म्युच्युअल लिगल एसिस्टेन्स ट्रिटी’ भइनसकेको र बान्सी अमेरिकी दूतावासमा काम गर्ने भएकाले बयानमा बोलाउनु परेको आदेशमा भनिएको छ।
जिल्ला अदालतको आदेशमा बान्सीको हकमा कुटनीतिक विशेषाधिकार (डिप्लोम्याट प्रिभिलेज) लागू हुने वा नहुने विषयमा खुलाउन लिखित रूपमा जवाफ पेस गर्न परराष्ट्र मन्त्रालयको नाममा पनि जिल्ला अदातलले आदेश जारी गरेको छ।
जिल्ला अदालतले आरोपित दीपक कटुवालको कन्सुलर विभाग र शिक्षा मन्त्रालयको पत्र समेत अविलम्ब पेस गर्न आदेशमा भनिएको छ।
जिल्ला अदालत काठमाडौंले कटुवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश समेत गरेको छ। कटुवाल विरुद्ध मुलुकी अपराध संहिताको दफा २७६ बमोजिम ३ वर्षभन्दा धेरै कैद हुनुपर्ने दाबी गर्दै आरोपपत्र दायर भएको थियो। उक्त मुद्दामा थुनछेक आदेश गर्दै जिल्ला न्यायाधीश भट्टराईको इजलासले मुलुकी फौजदारी कार्याविधिअनुसार ३ वर्षभन्दा बढी कैद हुने सजाय हुने देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
नक्कली प्रमाणपत्र बनाउँदा यसरी तुहियो अमेरिका सपना
डिभी चिठ्ठा परेपछि अमेरिका जाने तयारीमा रहेको अवस्थामा झापाको दमक नगरपालिका-७ का दीपक कटुवाल फागुन १६ गते पक्राउ परेका थिए। अमेरिकी दुतावास पुगेको अवस्थामा उनले डिभी भिसाका लागि पेस गरेको प्रमाणपत्र कीर्ते भएको पाइएपनि दूतावासबाटै कटुवाल पक्राउ परेका थिए।
उनले अमेरिका जानका लागि पुतलीसडकबाट कक्षा ११ र १२ को नक्कली प्रमाणपत्र पेस गरेका थिए।
यसरी नै नक्कली प्रमाणपत्र पेस गरेको भन्दै कटुवाल, सिन्धुलीको कमलामाई नगरपालिका–९ की २६ वर्षीया रेखा माझी र लमजुङको दूधपोखरी गाउँपालिका–१ की ३० वर्षीया अप्सरा गुरुङ समेत पक्राउ परेका थिए।
यसैगरी नक्कली प्रमाणपत्र बनाएको अभियोगमा चितवन भरतपुर महानगरपालिका–५ का २६ वर्षीय निखिल पराजुली पनि पक्राउ परेका थिए।
कक्षा १२ अनुत्तीर्ण पराजुलीलाई डिभी चिठ्ठा परेको थियो। डिभी परेपछि अमेरिका जान उनले कक्षा १२ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाएर अमेरिकी दूतावासमा पेस गरेका थिए।
दूतावासलाई उक्त प्रमाणपत्र नक्कली भएको शंका लागेपछि महानगरीय प्रहरी अपराध महाशाखालाई पत्र लेख्दै अनुसन्धान गर्न आग्रह गरेको थियो। दूतावासको पत्रपछि अनुसन्धान गर्दा पराजुलीको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि पक्राउ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।