पाकिस्तानका पूर्व सैन्य शाषक परवेज मुशर्रफले पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्या सम्बन्धमा मुद्धा लड्न देश फर्किने बताएका छन्। बेनजीर हत्याकाण्डमा पाकिस्तानको अदालतमा २००७ मा मुशर्रफविरुद्ध मुद्धा परेको थियो।
उनी लामो समय अदालतमा उपस्थित भएका थिएनन्। त्यसैले उनलाई गत शुक्रबार अदालतले फरार अभियुक्त घोषित गरेको थियो। मुशर्रफले आइतबार नै एउटा विज्ञप्ती सार्वजनिक गर्दै रावलपिन्डी आतंकवाद विरोधी अदालतले गरेको फैसला आफूप्रति लक्षित नभएको बताएका छन्।
उनले अस्वस्थ्यताका कारण अदालतमा उपस्थित हुन नसकेको बताएका छन्। ‘जब म पूर्णरुपले स्वस्थ्य हुन्छु। निश्चय नै पाकिस्तान फर्किने छु र मुद्धा लड्ने छु,’ उनले भने, ‘यो काण्डमा मलाई फसाउने काम भयो। त्यो विभत्स हत्यामा मेरो कुनै सरोकार थिएन।’
बेनजीर हत्याकाण्डमा मुशर्रफमाथि हत्या र योजना बनाएको आरोप लागेको थियो। अहिले उनी दुबईमा बसोबास गर्ने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।