चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन्।
प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए। 'लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ?' उनले भने, 'नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरुको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ।'
वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए। राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उनको भनाइ थियो।
राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको उनले विरोध गरे। 'व्यक्तिको स्वतन्त्रता हो धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ,' उनले भने, 'नेपालमा खुलारूपमा क्रिस्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छुट दिएको।'
नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रस्ट पार्दै भने, 'माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा पनि छुन्नँ।' २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियान नै चलाएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।