काठमाडौं- राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका सेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कार्यालय समयमा नेप्सेको कार्यालय परिसरबाहिर धर्ना बस्न लाग्दा सेयर लगानीकर्ता दबाब समूहका सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्वार बाहिर नै धर्ना बस्न लाग्दा प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको थियो। सो क्रममा केही समय लगानीकर्ता र प्रहरीबीच भनाभन भएको थियो।
शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै सेयर लगानीकर्ताले प्रहरीको गाडीभित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षेपविरुद्ध नाराबाजी गरेका थिए।
सिंहदरबार अगाडिको संवेदनशील र धर्नाका लागि निषेधित क्षेत्र परेको तथा युएन पार्क मार्गको बाटोसमेत अवरोध हुन सक्ने भएकाले उनीहरुलाई पक्राउ गरिएको सो स्थलमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक वासुदेव खतिवडाले बताए।
अहिले १३ जना सेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। प्रहरी नियन्त्रणमा रहेका सेयर लगानीकर्ता दबाब समूहका दीपेन्द्र अग्रवालले शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार प्रयोग गर्दा धरपकड गरिएको भन्दै प्रहरी हस्पतक्षेपको विरोध गरे।
सेयर लगानीकर्ताहरुले पुँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।