काठमाडाैं- पर्वतका २ वटा वडालाई 'मुख्यमन्त्री नमूना कृषि गाउँ'काे रुपमा विकास गरिने भएकाे छ। फलेवास नगरपालिका–११ कुर्घा र कुश्मा नगरपालिका–१ पाङलाई नमूना कृषि गाउँका रुपमा विकास गर्न थालिएको हो।
कृषकसँंगको सहकार्यका आधारमा गण्डकी प्रदेशका हरेक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्न प्रदेश सरकारले गृहकार्य थाले अनुरुप पर्वतका यी दुई स्थानलाई नमूना कृषि गाउँको रुपमा विकास गर्न थालिएको हो।
गण्डकी प्रदेशको कृषि मन्त्रालयले 'मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम'का रुपमा यो कार्यक्रम सुरु गरेको हो। नमूना कृषि गाउँ कार्यक्रमका लागि यस वर्ष १० करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रत्येक नमूना कृषि गाउँलाई ३० लाखका दरले रकम प्रदान गरिने गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पहिलो वर्ष कार्यक्रम पाएको गाउँले दोस्रो वर्ष त्यसको ५० प्रतिशत पुनः रकम पाउनेछ भने पहिलो वर्ष सञ्चालित नमूना कृषि गाउँलाई अर्को वर्ष ५० प्रतिशत रकम कम गर्दा रहने रकम अन्य नमूना कृषि गाउँ बनाउनका लागि खर्च गरिनेछ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्वतमा छनोट भएका कुर्घा र पाङमा नमूना कृषि गाउँको कार्य प्रारम्भ गरेका छन्। सभामुख अधिकारीले कृषक, सरकार र कृषि वैज्ञानिकको साझेदारी प्रयत्नबाट नमूना कृषि गाउँ निर्माण गर्दै अगाडि बढ्ने बताए।
रैथाने जातका तरकारीलाई प्रवर्द्धन गर्दै कृषि विकासका माध्यमबाट समृद्धिको यात्रा तय गर्न 'मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम'ले सहयोग पुग्ने बताए। उनले उक्त कार्यक्रमले कृषि उत्पादकत्वमा वृद्धि हुनुका साथै कृषको आयआर्जनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री लम्सालले उक्त कार्यक्रममार्फत स्थानीय कृषि विकासका नवीन मोडल प्रस्तुत गर्ने प्रदेश सरकारको योजना रहेको बताए। उक्त कार्यक्रम गण्डकी प्रदेशका ११ जिल्लाका सबै ३६ निर्वाचन क्षेत्रमा सञ्चालन गरिने जनाउँदै उनले ‘एक स्थानीय तह, एक नमूना कृषि गाउँ’ स्थापना गर्ने उद्देश्य रहे पनि पहिलो वर्ष कम्तीमा ‘एक निर्वाचन क्षेत्र, एक नमूना कृषि गाउँ’ बनाउने लक्ष्य प्रदेश सरकारले राखेको स्पष्ट पारे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।