हुम्ला- हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको छ। यसअघि पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो। चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या भएकाे छ।
हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अमरबहादुर शाहीले बताए। जिल्लामा सोमबार दिनभर पानी परेको थियो भने आज बिहानदेखि हिमपात सुरु भएको छ।
चैत १० गतेबाट सञ्चालन भएको एसइई परीक्षा दिने परीक्षार्थीलाई हिमपातसँगै बढेको चिसोले लेख्न समस्या भएकाे छ। सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ। जिल्लाको बेँसीतिर भने अझैपनि पानी परिरहेको छ। उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्लामा बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झरेकाे छ। यस वर्षको एसइईमा जिल्लाबाट ९ सय ५३ जना विद्यार्थी परीक्षामा सहभागी छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।