काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताएका छन्।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
'उहाँहरु सहमतिमा आए ठिकै छ। नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ', प्रधानमन्त्री ओलीले भने, 'विकास निर्माणमा अवरोध, शिक्षा, स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने, मान्छे मार्ने अनि हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने? यस्तो प्रवृत्तिलाई सरकारले नियन्त्रण गर्छ नै।'
प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन सकिएकाले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिए। उनले जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदहरुलाई निर्देशन पनि दिए।
'तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस्। सरकारले गरेका कामहरुको प्रचार गर्नुहोस्। जनतामा भएका कुरा लुकाएर नभएका कुराको प्रचार गरिएको छ। त्यसको खण्डन गर्नुहोस्। सत्य कुरा भन्नुहोस्। जनताका कुरा सुन्नुहोस्। आगामी वर्षको नीति तथा कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस्', प्रधानमन्त्रीले सांसदहरुलाई आग्रह गरे, 'जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस्।'
नेकपाका संसदीय दलका नेता र एवं पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थानीय तहको पार्टी एकताको बारेमा जनताले सांसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताए। तर अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसै अनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरे।
'केन्द्रमा एकीकरण भएको महिना दिनभित्रै सबै कमिटीको एकता सकिनुपर्थ्यो। यसमा अनावश्यक बिलम्ब भएको छ', उनले भने, 'तर, अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने बित्तिकै एकताका सबै काम टुंगिन्छन्।'
प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढिरहेको बताए। नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको बताए। 'देशमा नेकपा जस्तो स्पष्ट नीति, लक्ष्य भएको अर्को पार्टी छैन। हाम्रो स्पष्ट लक्ष्य छ– समृद्धि सहितका सुखी नेपाली', प्रधानमन्त्री ओलीले भने, 'यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।