काठमाडाैं- राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्यले तिब्रता पाएकाे छ।
आयोजना स्थल दोलखाको विगु गाउँपालिका-१, गोगर पुगेर आयोजना निर्माणको अध्ययन भ्रमणपछि उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजनाको निर्माण कार्य तीब्र गतिमा अघि बढेको बताएका हुन्। उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोश्रो पटक आयोजना स्थल पुगेका मन्त्री पुनले निर्धारित समय भित्रै निर्माण सम्पन्न गर्ने गरि आयोजनाको काम भइरहेको आफूले पाएको भन्दै खुसी व्यक्त गरे।
उनले ठूला आयोजना नेपालीले नै निर्माण गर्न सक्छन् भन्ने कुराको नमूना नै माथिल्लो तामाकोशी जलविद्युत आयोजना रहेको टिप्पणी गरे।
मन्त्री पुनले मुलुककै ठूलो आयोजना भएकाले साना-ठूला समस्या आइनै रहने भएपनि पछिल्लो समयमा भएको निर्माणको गतिलाई हेर्दा २०७६ मंसिरमा नै आयोजनाले परिक्षण उत्पादन गर्नेमा आफू विश्वस्त भएको प्रतिक्रिया दिए।
अवलोकन भ्रमणको क्रममा आयोजनाका ठेकेदारहरु र सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो।
समयमै आयोजना निर्माण सक्न ठेकेदारहरुलाई निर्देशन
साे क्रममा मन्त्री पुनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका ठेकेदारहरुलाई समयमै आयोजना निर्माणको काम सक्न निर्देशन दिए।
राष्ट्रिय गौरवको आयोजनामा सरकार, संसददेखि सर्वसाधरण र सेयर होल्डरको चासो तथा आयोजनाले मुलुकको सिंगो अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने भएकाले यसको निर्माण समयमै सक्नुपर्नेमा उनले सरोकारवालाहरुलाई सचेत गराए।
आयोजना निर्माणको क्रममा देखिने सानातिना समस्या समाधानका लागि निर्माण कार्यसँग जोडिएका सबै पक्षबीच निरन्तर छलफल र परामर्श हुनु अत्यावश्यक भएको भन्दै उनले मासिक रुपमा कार्यसमिक्षा बैठक बस्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए। स–सानामा समस्यामा अल्झेर सधैं आयोजनाको समय थप गर्दे लैजानु उपयुक्त नहुने भन्दै मन्त्री पुनले प्रतिबद्धताअनुसार काम पुरा गर्नेतर्फ सचेत बन्न पनि आग्रह गरे।
उनले आन्तरिक छलफलबाट निकास निस्कन नसकेका विषयलाई सरकारले सम्बोधन गर्ने भन्दै २०७६ मंसिरमा परीक्षण उत्पादन सुरु गर्नेगरि निर्माण कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता औंल्याए। समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई सरकारले सधै सहयोग गर्ने भन्दै तीब्र गतिमा निर्माण कार्यमा लाग्न पनि उनले सचेत गराए।
उर्जा मन्त्री पुनसँगै राष्ट्रिय योजना आयोगका सदस्य कृष्ण प्रसाद ओली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको अध्ययन टोलीलाई आयोजनाका प्रमुख कार्यकारी विज्ञान प्रसाद श्रेष्ठले निर्माण कार्यमा भएको प्रगति, समस्या र चुनौतीका बारेमा जानकारी गराएका थिए।
अन्तरक्रियामा आयोजनाका प्रमुख कार्यकारी श्रेष्ठले रकम अभाव नै आयोजनाको मुख्य समस्या भएको भन्दै रकमान्तर गरेर भएपनि आयोजनालाई आवश्यक बजेटको व्यवस्था मिलाउन मन्त्री पुनसँग आग्रह गरे।
साे क्रममा श्रेष्ठले अहिलेसम्म प्रसारण लाइन तथा सबस्टेसन निर्माणको ८५ प्रतिशत काम पुरा भएको र त्यसका लागि ४४ अर्ब ७ करोड रुपैया खर्च भइसकेको जानकारी दिए। निर्माण अवधिको ब्याज १९ अर्ब ८४ करोड रुपैयाँसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ रहेको उनले बताएका थिए।
२०६५ सालमा ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको २०७४ पुसमा ४९ अर्ब २९ करोड रुपैयाँ लागत पुगेको थियो। आयोजनाका प्रमुख कार्यकारी श्रेष्ठले आगामी मंसिरमा परीक्षण उत्पादन सुरु गर्नेगरि काम भइरहेको र व्यवसायिक उत्पादनका लागि थप केही समय लाग्ने बताए।
मन्त्री पुनको टोलीले आयोजनाको बाँध, सुरुङ तथा विद्युत गृहको अवलोकन गरेको थियो।
फागुन मसान्तसम्ममा आयोजनाको ९८ प्रतिशत निर्माण कार्य पुरा भएको छ। ४ सय ५६ मेगावाट क्षमताको मुलुककै ठूलो जलविद्युत आयोजनामा भारतीय, चिनियाँ, युरोपेली विज्ञ, कामदार तथा ठेकेदारहरु संलग्न छन्।
आयोजना निर्माणको समय लम्बिँदै जादा नेपाली मुद्राको अवमुल्यन, मुल्यवृद्धिलगायत कारणले यसको लागत पनि बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।