काठमाडौं- निर्वाचन आयोगमा रिक्त प्रमुख निर्वाचन आयुक्त लगायत अन्य संवैधानिक आयोगका सदस्य सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दैछ।
अयोधीप्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न दिउँसो ३ बजे परिषद्काे बैठक बस्न लागेको हो।
यादव ६ वर्षे कार्यकाल सकेर आइतबार सेवानिवृत्त भएका थिए। आयुक्त शर्माले पनि आइतबारदेखि नै अवकाश पाएकी छन्। यादव र शर्माको अवकाशसँगै आयोगमा २ पद रिक्त भएका छन्।
परिषद् बैठकमा संविधानअनुसार गठन हुनुपर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाती आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका विषयमा समेत छलफल हुने कार्यसूची रहेको छ।
परिषद्को सिफारिसमा यसअघि नै प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु, मुस्लिम र मधेशी आयोगमा अध्यक्ष नियुक्त भइसकेका छन्। तर, ती आयाेगमा पनि सदस्यहरू सिफारिस हुन बाँकी छन्। रिक्त सदस्य पदहरूमा नियुक्तिका विषयमा समेत बैठकमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।