काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका डिएसपी अंगुर जिसी जिल्ला अदालत कञ्चनपुरमा आज उपस्थित भएका छन्।
उनी लगायत ८ जना प्रहरीविरुद्ध प्रमाण नष्ट र यातना दिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो। त्यसैको बयानका लागि उनी कञ्चनपुर अदालतमा उपस्थित भएका हुन्। हाल उनी निलम्बनमा परेका छन्।
यसअघि आइतबार मात्रै कञ्चनपुर अदालतले पूर्व एसपी दिल्लीराज विष्टलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उनी धरौटी तिरेर रिहा भएका छन्। अन्य प्रहरी अधिकारी पनि सामान्य धरौटी तिरेर रिहा भइसकेका छन्।
साउन १० गते साथीको घरमा जान्छु भनेर निस्किएकी बालिका पन्त भालिपल्ट नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।