काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कोशी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन्।
उनलाई आइतबार राति मोरङबाट प्रहरीले पक्राउ गरेको हो।
पुष्कर काठमाडौंमा रहेको रेडियो मिर्मिरेका पूर्व अध्यक्ष समेत हुन्। सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन्।
शुक्रबार रातिमात्रै मध्य केन्द्रीय कमाण्ड हेमन्तप्रकाश ओली (सुदर्शन)सहित ९ जना काभ्रेबाट पक्राउ परेका थिए। उनीहरुले हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको अपराधमा ८ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
सो पार्टीको कोशी ब्युरो अन्तर्गत पर्ने जिल्लाहरु सुनसरी ,भोजपुर ,मोरङ र धनकुटा हुन्।
त्यसभन्दा अघि पनि काठमाडौंबाट विप्लव समूहका केही नेता कार्यकर्ता पक्राउ परिसकेका छन्। विप्लव समूहले गराएको बम बिस्फोट ललितपुरमा एक जनाको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए।
त्यस्तै वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष समेत रेहका रोहन गुरुङको बसुन्धरास्थित घरमा पनि शक्तिशाली बम बिस्फोट गराइएको थियो। उक्त विस्फोटको जिम्मा पनि विप्लव समूहले नै लिएकोे थियो।
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकता भूमिगत भएका छन्। हतियारसहित देखा परेको अवस्थामा गोली प्रहार गर्न समेत सुरक्षाकर्मीलाई सरकारले आदेश दिइसकेको छ।
त्यस्तै आइतबार मात्रै गृहमन्त्रालय एक विज्ञप्ति जारी गर्दै विप्लव समूहलाई सहयोग नगर्न र चन्दा नदिन समेत आग्रह गरेको छ। उक्त पार्टीलाई सहयोग गरेको पाइए उनीहरुलाई समेत कारबाही गरिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।