काठमाडौं- प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबारबाट अवकाश लिएका छन्।
२०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएका प्रमुख निर्वाचन आयुक्त यादवले आईतबारबाट अवकाश पाएका हुन्।
यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आईतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। बिदाइ समारोहमा अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिना भित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिए।
'लोकतन्त्रको सवलीकरणका लागि इमान्दारिताका साथ आफ्नो सवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने विश्वास व्यक्त गर्छु,' यादवले भने।
अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका थिए।
आम निर्वाचन लगायतका सबै निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न निर्वाचन कानुनमै निर्वाचनको मितिसहितको कार्यतालिका तय हुनुपर्ने उनको तर्क छ। यादवले विभिन्न तहका लागि गर्नुपर्ने उपनिर्वाचनको काममा पनि ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए।
यादवको अवकाशसँगै कार्यवहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्ने छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।