काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै प्रतिपक्ष दलहरूले सरकारको आलोचना गर्न विषय नै नपाएको भन्दै कटाक्ष गरेका छन्।
संघीय संसदको तेस्रो अधिवेशन अन्त्यको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षले उठाएको कुरा नै दुई पक्ष भएको टिप्पणी गरे।
‘प्रतिपक्षले विषय नपाएको देखिएको छ’ प्रधानमन्त्रीले भने, ‘यसरी उठाउँदा सरकारलाई मद्दत पुगेको छ, अपराधी पत्ता लगाऊ कि लगाऊ भनेको छ।’
प्रतिपक्षको यो आवाजले सरकारलाई मद्दत पुगेको प्रधानमन्त्रीले टिप्पणी गरे। वाइडबडीमा अख्तियारले छानबिन गर्दै गरेकाले केही दिनमा नतिजा आउने प्रधानमन्त्रीले बताए।
‘प्रतिपक्षलाई म धन्यवाद भन्न चाहन्छु, केही नपाउँदा त विरोध गर्छन भने केही गरौं भने के गर्लान् भनेर हामी सचेत छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि प्रतिपक्षले विरोध गर्ने विषय पाउने छैनन्।’
सरकारको सम्पूर्ण ध्यान सुशासनमा केन्द्रित रहेको भन्दै प्रधानमन्त्री ओलीले कुनै भ्रष्टाचार प्रकरणमा कोही पनि उम्कन नपाउने बताए।
विप्लवले लुट्न हतियार देखाए
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको सम्बोधनमा नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवको गतिविधिमा पनि आलोचना गरे। ‘सरकारले विकासको महाअभियान चलाएको बेला हतियार चलाउने कार्य मान्य हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘त्यसैले यस्ता गतिविधिलाई सरकारले नियन्त्रण गरिन्छ र गर्छ।’
सरकारले जनातको पक्षमा काम गर्दा पनि अधिनायकवाद भयो भनि टिप्पणी हुने गरेको प्रधानमन्त्रीले बताए। संसदीय समितिले स्वतन्त्रतापूर्वक काम गरेको भन्दै ओलीले सरकारले कतै पनि हस्तक्षेप नगरेको टिप्पणी गरे।
केही दिन पहिले संसदीय सुनुवाई समितिले समयमै स्वीकृत नर्गदा विवादित समिम मिया अन्सारी मुस्लिम आयोगको अध्यक्ष बनेको भनी भएको आलोचनातर्फ संकेत गर्दै उनले संसदका समितिले आफ्नो खुसीले स्वीकार वा अस्वीकार गर्न पाउने टिप्पणी गरे।
‘नयाँ संसद भएकाले कतिपय कुरा नमिलेको हुनसक्छ तर सिक्दै जान्छ,’ उनले भने, ‘तर यसमा निरासा फैलाउने प्रयास भएको छ।’
'नेपालको पानी जनताको लगानी' भन्ने अभियान सुरु गरेका भन्दै उनले यसमा जनता उत्साहपूर्ण सहभागी भएको बताए।
३ करोड रुपैयाँ भन्दा जनताको उत्साहपूर्ण सेयरका लागि आवेदन दिएको भन्दै प्रधानमन्त्रीले यसलाई जोगाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।