काठमाडौं– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालको नाम बेच्दै ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले मन्त्री अर्यालयको नाम बेच्दै ठगी गर्ने स्याङ्जाका ३२ वर्षीय धर्मानन्द न्यौपानेलाई पक्राउ गरेको हो।
उनलाई सिआइबीले दुई हप्ताअघि काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई महानगरीय प्रहरी वृतमा महाराजगञ्जमा राखेर अनुसन्धान गरिएको छ।
पक्राउ परेका युवा न्यौपाने र मन्त्री दुवैको स्याङ्जा एकै ठाउँ घर हो। न्यौपाने नेकपाका कार्यकर्ता समेत हुन्।
नेकपाका कार्यकर्ता समेत रहेका न्यौपानेले आफ्नो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालसँग राम्रो सम्बन्ध भएको भन्दै ६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको सिआइबीले जनाएको छ।
मालपोतबाट हुने सम्पूर्ण कामको सेटिङ मिलाइदिने भन्दै उनले सर्वसाधरणलाई प्रलोभनमा पारेर ठगी गरेको सिआइबीका एक अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।
‘जग्गाका पास, कित्ताकाट, गुठीको जग्गा व्यक्तिको नाममा ल्याउने, मोहियानी हक लगाएर जग्गा लिन सक्ने व्यवस्था मिलाइदिने लगायतका आश्वासन देखाएर ठगी गरेको पाइएको छ,’ सिआइबीका एक अधिकारीले भने, ‘सर्वसाधरणलाई विश्वासमा पार्नका लागि उनले मन्त्री अर्यालयसँग समेत राम्रो सम्बन्ध भएको र यसबारे अर्याल समेत सहमति भइसकेको भन्दै ठगी गरेको देखिन्छ।’
पक्राउ परेका न्यौपानेले मन्त्रीको नाम मात्रै नलिएर सेटिङको सम्पूर्ण जानकारी मन्त्रीलाई जानकारी गराइसकेको भन्दै प्रलोभनमा पार्ने काम गरेका थिए।
सोही क्रममा उनले काठमाडौंमा कस्मेटिक पसल सञ्चालन गर्न लागेका थिए। त्यसका लागि रकम अभाव भएपछि उनले यसरी सर्वसाधरणलाई प्रलोभनमा पारेर ठगी गरेको पाइएको अनुसन्धानमा संलग्न एक व्यक्तिले बताए।
पीडित ती व्यक्तिसँग उनले ६ लाख रुपैयाँ लिएको तर पछि काम नभएको र रकम पनि फिर्ता नभएपछि मन्त्रीको नाम लिएर ठगी गरेको भन्ने कुरा बाहिर आएको थियो।
आफ्नो नाम बच्दै ठगी गरेको भन्ने थाहा पाएपछि मन्त्री अर्यालले गृहमन्त्रालयमा उक्त कुरा जानकारी गराएकी थिइन्। भूमि सुधारबाट गृहमन्त्रालय हुँदै प्रहरीको ठगी बारेको जानकारी परेपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको थियो।
सिआइबीले यसको यर्थाथ बुझ्न मन्त्री अर्यालयसँग पनि सम्पर्क गरेको थियो। जसमा मन्त्रीले आफ्नो कुनै संलग्न नरहेको र कानून बमोजिम गर्न मिल्ने कामलाई रोकटोक नभएको जवाफ न्यौपानेलाई दिएको बताएकी छन्।
उक्त कुरालाई दुरुपयोग गर्दै न्यौपानेले मन्त्री समेत सहमति भइसकेको भन्दै ठगी हतियार बनाएका थिए।
अहिलेसम्म ठगीका बारेमा एक जनाको मात्रै उजुरी परेको सिआइबीले जनाएको छ। यसरी अन्य व्यक्तिलाई पनि ठगी गरेको हुनसक्ने भन्दै सिआइबीले पीडित व्यक्तिलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।