काठमाडौं– प्रधानमन्त्री केपी ओलीले विप्लव समूहको कडा आलोचना गरेका छन्।
प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिनको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले विप्लव समूहलाई सम्झाउँदा नसम्झिएकाले नै कडा कदम चाल्नुपरेको प्रष्ट पारे। उनले भने– 'राज्यले विप्लव समूहको गतिविधि नियन्त्रण गर्न लाग्यो, ब्याकगियर छैन।'
'लोकतन्त्रमा मान्छे मार्न पाइँदैन', उनले भने', 'सरकारले आतंक नियन्त्रण गर्छ, गर्छ। विकासको काममा बाधा गर्न दिँइदैन।'
प्रधानमन्त्रीले अब देशमा अशान्तिको शृंखला जारी राख्ने कल्पना नगर्न सुझाए।
प्रधानमन्त्रीले राजसंस्थाको लागि जनमत संग्रहको माग गरिरहेका शक्तिको समेत चर्को आलोचना गरे। 'नेपालमा प्रतिगमनको कुनै सम्भावना छैन', उनले भने।
उनले राजसंस्था राजसंस्था भनेर फट्याकफुट्युक नगर्न सुझाए। त्यो सह्य नहुने उनले चेतावनी दिए।
केही हप्ताअघि सम्झौता गरिएको सिके राउत समूहको भने प्रधानमन्त्रीले प्रशंसा गरेका थिए। 'अब देशमा विखण्डनवाद छैन', उनले भने, 'आफ्नै गान बनाएर हिँडेको समूहले सयौं थुंगा गाएर आफ्नो काम सुरु गर्छ। यो नेपालीले खुसी मनाउनुपर्ने अवस्था होइन?'
उनले राउतसँगको सम्झौतामा जनअभिमतलाई प्रष्ट्याउने प्रयास गरे। 'लोकतन्त्रमा जनताको अभिमतबाट नचले कसको अभिमतबाट चल्ने?', उनले प्रश्न गरे।
उनले खुसी हुनुपर्ने ठाउँमा केही मान्छेहरु आत्तिएको देखेर आफू अचम्ममा परेको उनले बताए।
उनले भ्रष्टाचारलाई रोक्ने सन्दर्भमा ठूलाठूला उपलब्धी भएको प्रधानमन्त्रीले बताए। उनले सरकार बन्ने बित्तिकै सुन तस्करीको कारोबारीलाई पक्राउ गरेको जानकारी दिए।
'भ्रष्टाचार नियन्त्रण र उन्मुलन सरकारको प्राधमिकताको कुरा हो', उनले भने, 'किनकि सरकार विकास र सुशासन चाहन्छ।'
उनले विद्यार्थी भर्ना अभियान यसपटक पनि चलाउने उनले बताए। 'विद्यालय बाहिर कुनै पनि विद्यार्थी छन् भन्ने अवस्था लगभग अन्त्य गर्न चाहन्छौं', उनले भने, 'ठूला बलिया देशले पनि गर्न नसकेको कुरा हामी गर्दैछौं।'
उनले दुई वर्षभित्र निरक्षरता अन्त्य गर्ने ठोस योजनाका साथ काम गरिरहेको बताए।
कतिपयले केही काम नभएको भने पनि विकास भने भइरहेको बताए। 'यसवर्ष लगभग आठ सय किलोमिटर बाटो कालोपत्रे भएको छ', उनले भने, 'नेपालको इतिहासमा यस्तो कहिल्यै भएको थिएन।'
उनले यस्ता काम सरकारले कसरी काम गरिरहेको छ भन्ने झलक भएको बताए।
उनले वनलाई कृषि वन बनाउने दिशातिर अघि बढ्न खोजेको बताए।
कृषिको आधुनिकीकरणमा असाधारण काम भएको उनले बताए।
प्रधानमन्त्रीले यस वर्षलाई उपलब्धीको वर्ष भएको बताए। 'दुरगामी महत्त्वका धेरै कामहरु गरेका छौं। आगामी वर्षहरुमा पनि त्यस्तै काम गर्छौं', उनले भने।
प्रधानमन्त्री ओलीले पहिलो, दोस्रो र तेस्रो अधिवेशनले आफ्ना काम सफलतापूर्वक गरेको बताए। 'तेस्रो अधिवेशनको अन्त्यसम्म आइपुग्दा तीनवटा उपलब्धीको अधिवेशन पार गरेको र सफलताको एक वर्ष पार गरेका छौं', प्रधानमन्त्री ओलीले भने।
उनले विभिन्न तहहरुको बीचमा तनाव हुने हो कि भन्ने प्रश्न भए पनि सफलतापूर्वक सम्पन्न गरेको बताए। 'यो पहिलो वर्ष कानुन र संरचनाको निर्माणको आधार वर्षको रुपमा रह्यो', उनले भने, 'हाम्रोजस्तो परिवेशमा यो सहज थिएन। तर हामीले सहज ढंगले पार गर्यौं।'
प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।