काठमाडौं- विवादित मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।
संवैधानिक परिषदको बैठकले फागुन ६ मा अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेको थियो। विवादित अन्सारीले ४ दिनअघि मात्र सपथ लिएका थिए।
अन्सारीविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयलाई लिएर सुनुवाई समितिमा उजुरी परेका थिए।
उनको नियुक्तिका विषयमा संविधान र कानुन विपरीत भएको भन्दै रिट दायर भएको हो। कपिलवस्तुका अब्दुल सलामले अन्सारीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्।
आयाेगकाे अध्यक्ष बनाउन नेकपाको ‘असंवैधानिक कदम’
अन्सारीले संसदीय सुनुवाइमा पेस गरेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा सुनुवाई समितिका सदस्यहरुले प्रश्न उठाएका थिए।
फागुन २२ को संसदीय समितिको बैठकमा सांसद योगेश भट्टराईले अन्सारीलाई नागरिकता प्रदान गर्नेले उनको नागरिकतामा दस्तखत नभएको भन्दै कानुनी अड्चन परेको बताएका थिए।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य र समानुपातिक सुचिमा रहेको भन्दै उनी आयोगको अध्यक्ष हुन कानुनी रुपमा नमिल्ने आवाज उठेको थियो।
अन्सारीलाई आयोगको अध्यक्ष बनाउन नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगलाई नै प्रभाव पार्ने कार्य गरेको थियो।
नेकपाकाे सचिवालय बैठकले निर्णय गरेको जनाउँदै महासचिव विष्णुप्रसाद पौडेलले समानुपातिकको बन्दसूचीबाट नाम हटाउन निर्वाचन आयोगलाई पत्र लेखेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।