काठमाडौं– उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग निको पार्न छुट्टै आधुनिक क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्।
उपप्रधानमन्त्री यादवले क्षयरोग लाग्न नदिन आवश्यक जनचेतना फैलाउन प्रदेश र स्थानीय तहमा आवश्यक स्वास्थ्य संस्थाहरूको स्थापना गर्ने योजना अघि सारे।
विश्व क्षयरोग दिवसको अवसर पारेर आइतबार राष्ट्रिय क्षयरोग केन्द्रले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पिछडिएका जनतामा जनचेतना अभिवृद्धि गरेर मात्रै क्षयरोगबाट हुने मानवीय क्षतिलाई न्यूनिकरण गर्न सकिने पनि स्पष्ट पारे।
उपप्रधानमन्त्री यादवले क्षयरोग बेलैमा उपचार गरे निको हुने रोग भएकाले यसको समयमै उपचार गर्न पनि सर्वसाधारणलाई अपिल गरे।
क्षयरोग निदानको कामलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि उपप्रधानमन्त्री यादवको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।