काठमाडौं- प्रतिनिधिसभाले 'मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५' पारित गरेको छ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको विधेयक माथि छलफल गरि संशोधन सहित बहुमतले पारित गरेको हो।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहित विधेयक २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए।
प्रतिवेदन सहितको विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल (गौतम), शेर बहादुर तामाङ, हितबहादुर तामाङ, कृष्णभक्त पोख्रेलले महत्वपुर्ण विधेयक भएकाले त्यसबारे बृहत रूपमा सरोकारवालासँग छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै विधेयकमाथि थुप्रै संशोधन आवश्यक रहेको बताए।
सांसद भुसालले विधवा महिलाले अर्को बिहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्नेलगायत विधेयकमा भएका प्रावधान अझै पनि संशोधन गर्न आवश्यक रहेको धारणा राखे।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले विषयगत आधारमा संसोधन गर्नुपर्ने आवश्यकता देखिएमा भविष्यमा संशोधन गर्दै लैजान सकिने बताएका थिए।
उनले विधवा महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने र डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको वा नभएको भन्ने विषयमा छानबिन गर्न गठन गरिने समितिका सदस्यको क्षमता र योग्यताका बारेमा सांसदहरुले गराएको ध्यानाकर्षणलाई आगामी दिनमा महत्व दिईने प्रतिबद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।