काडमाडौं- सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत महिला कर्मचारीहरुको समस्यालाई ध्यानमा राखेर दिवा शिशु स्याहार केन्द्रको सुुरुवात गरेको छ।
सर्वोच्च अदालतले आइतबार एक कार्यक्रमको आयोजना गरेर न्यायपालिकामा कार्यरत कर्मचारीहरुका बालबालिका स्याहार्न सर्वोच्च परिसरमै दिवा शिशु स्याहार केन्द्रको स्थापना गरेको हो।
सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले शिशु स्याहर केन्द्रको उद्घाटन गरेका हुन्।
विशेष गरी महिला कर्मचारीहरुको सुत्केरी बिदा सकिएपछि बच्चालाई कसरी हुर्काउने भन्ने समस्या बढ्ने, बच्चा घरमै भएपछि काममा समेत प्रभावकारीता नहुने भएकाले दिवा शिशु स्याहार केन्द्रको स्थापना गरिएको मुख्य रजिष्ट्रार निरौला बताए।
उनले स्याहार केन्द्रको स्थापनापछि बच्चाले पाउने फ्रेस फिडिङ र आमाले गर्ने नियमित काममा समेत सहज र प्रभावकारी हुने भएकाले केन्द्रको स्थापना गरिएको बताए।
कामकाजी बाबुआमा दुबै कर्मचारीका विद्यालय जानुअघिका बालबालिकामा शारीरिक, बौद्धिक र मानसिक विकास गराई समयानुकुल वातावरणमा प्रवेश गराउनु नै केन्द्रको उद्देश्य रहेको शिशु स्याहार केन्द्रको स्थापना गर्न खटिनुभएकी शाखा अधिकृत सम्झना सिंखडाले जानकारी दिइन्।
शिशु स्याहार केन्द्रमा बालबालिकालाई आवश्यक पर्ने पौष्टिक आहारको व्यवस्था मिलाईएको छ।
सुरुवातमा २ जना आमा (कर्मचारीको) व्यवस्था गरिएको छ भने आवश्यक सहयोगका लागि सर्वोच्च प्रशासनलाई जिम्मा दिइएको छ।
स्याहार केन्द्रमा ६ महिनादेखि ३ वर्षसम्मका बालबालिकालाई राखिने भएको छ।
स्याहार केन्द्रमा रहने बालबालिकाको भर्ना आइतबारबाटै सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।