काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीबाट सार्वजनिक रुपमै ‘लुटेरा’को संज्ञा पाएको विप्लव नेतृत्वको नेकपाभित्र राजनीतिक अन्तर्विरोध चर्किएको छ। यतिसम्म कि, पार्टी कमाण्ड हाकिरहेका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिका दोस्रा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही गरिएको समेत खबर सतहमा आएको छ।
पार्टीभित्र भ्रष्टाचार र समानान्तर शक्ति संर्घषका चर्चाहरु भइरहेकै छन्। अर्कोतिर यो पार्टी र यसका नेता–कार्यकर्ताहरु सुरक्षाकर्मीको तेज निशानामा परिरहेको कहिँकतै छिपेको छैन।
नेकपा विप्लव समूहका एक उपल्लो दर्जाका नेतालाई हामीले सोधेका थियौं, ‘तपाईँहरुको पार्टीभित्र भइरहेको लफडाको अन्तरवस्तु के हो?’
नेपाल लाइभको सम्पर्कमा आएका ती नेताले पहिले त हामीलाई कम्युनिस्ट पार्टीभित्र देखिने मतान्तरहरु स्वभाविक भएको दाबी गरे। तर कुराकानी गर्दै जाँदा उनले यतिसम्म भने कि, ‘पैसाले नेताहरुलाई बिगार्ने रहेछ। हाम्रो पार्टीभित्र पनि धन शत्रु बनेर उदाएको छ।’
उनले कुनै बेला विप्लवका विश्वासपात्र मानिने खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई नेकपाले प्रवक्ताबाट निलम्बन गरेको स्विकारे। पटक-पटक प्रक्राउ र पछि सर्वोच्चको आदेशमा रिहा भएका प्रकाण्डका गतिविधि माथि पार्टीका नेताले शंका गरेको उनले बताए।
‘कतिपय सूचनाहरुको हिफाजत नगरेको मात्र होइन, यो बीचमा विभिन्न व्यापारी, कर्मचारी र धनिमानीहरुबाट चन्दाका रुपमा उठाइएको ठूलो धनराशी हिनामा गरिएको आरोपसम्मका कुरा छन्’, उनले भने, ‘तर प्रकाण्डलाई पार्टीभित्रबाट बाहिर गलहत्याउने काम भने भएको छैन। उनले पनि आफ्ना कुराहरु मूख्यालयलाई जानकारी गराउलान्।’
विप्लव नेतृत्वको नेकपाले गएको एक वर्षदेखि चन्दा संकलन अभियानलाई तिब्रता दिएको थियो। राजधानी र मोफसलका सहरहरुमा चन्दा संकलन बाक्लै थियो। ‘अहिलेसम्म तपाईहरुको पार्टीले कति पैसा जम्मा गरेको छ?, ती नेतालाई प्रश्न थियो।
‘यति नै भन्ने हिसाब क्लियर त भइरसकेको छैन तर कम्तिमा पनि १० करोड भन्दा बढि चन्दा संकलन भएको अनुमान उच्च तहमा छ’, उनले भने, ‘उठेको पैसाको हिसाबकिताब पारदर्शि हुन नसकेको भन्दै प्रकाण्डजी लगायत अरु केही नेताहरुसँग महासचिव अलिक विच्किनु भएको सत्य हो।’
हालै मात्र प्रहरीले प्रकाण्डबाट एउटा गोप्य डायरी जफत गरेको कुरा सार्वजनिक भएको थियो। डायरीमा चन्दा संकलनको सूची र राजनीतिक नेताहरुलाई भौतिक कारवाहीका लागि ‘टार्गेट’ गरिएको दाबी सुरक्षाकर्मीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।